सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको यो गाउँ, जहाँ नयाँ मान्छेले प्रवेश गर्न पाउँदैन

२०७६ चैत्र १६, ०७:०९ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी–२ डबरबाटाका युवाहरूले गाउँमा अपरिचित व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड– १९ लाई मध्यनजर गर्दै गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो। 

भारत लगायत अन्य ठाउँबाट मानिसहरु जथाभावी गाउँमा प्रवेश गरीरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाहरुले गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध गरेका हुन्।

भारतबाट युवाहरु स्वास्थ्य जाँच नगरी छिमेकी गाउँमा प्रवेश गरिसकेकाले आफ्नो गाउँमा त्यस्ता व्यक्ति प्रवेश नगरुन भन्ने उदेश्यले प्रवेश निषेध गरेको युवा शिवम भण्डारीले बताए। गाउँमा बसोबास गर्ने पारिवारिक सदस्य बाहेक अन्य व्यक्तिले प्रवेश गर्दा अनुमति लिएर मात्रै प्रवेश गर्न पाउने उनले बताए।  

यस क्षेत्रका युवाहरु कामको शिलशिलामा विशेष गरेर भारत जाने गरेका छन्। भारतमा कोरोनाको त्रास बढेसँगै युवाहरु गाउँमा प्रवेश गरेको र तिनीहरुमा कोरोनाको संक्रमण हुनसक्ने  र अन्य व्यक्तिमा सर्ने आशंकामा गाउँमा प्रवेश निषेध गरेको स्थानीय जयन्त भण्डारीले बताए। 

अमरगढी नगरपालिका २ र ३ मा भारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेरी गरिरहेका छन्। उक्त क्षेत्रका जनप्रतिनिधिहरु घरघरमै गएर सम्झाइ बुझाइ गरिरहेका छन्। 

कमेन्ट लोड गर्नुस