सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको घोषणा अनुसार आइसोलेसन कक्ष स्थापना भएनन्

२०७६ चैत्र १६, ०२:१६ कमल सावद

धनगढी: सुदूरपश्चिममा प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि साढे ७ सय शैयाको आइसोलेसन कक्ष स्थापना गर्ने दावी गरेपनि पूरा भएको छैन्।

प्रदेशका अस्पतालहरुमा आउने कोरोनाका सम्भावित विरामीको परिक्षणमा खटिने स्वास्थ्यकर्मीकै सुरक्षा समाग्री व्यवस्थापन नभएका बेला आइसोलेसन कक्ष स्थापनामा पनि सुस्तता देखिएको हो। अहिलेसम्म कैलालीसहित अन्य जिल्लामा दुई सय १२ शैयाको आइसोलेसन कक्ष मात्र स्थापना गरिएको छ। 

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)का सम्भावित तथा संक्रमित बिरामीका लागि साढे ७ सय शैयाको आइसोलेसन कक्ष बनाउने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको दावी थियो। तर प्रदेशको अस्थायी राजधानी धनगढीमा एकजना संक्रमित पुष्टि भइसक्दा समेत आइसोलेसन कक्षको संख्या दुई सय १२ मात्रै छ। 

नेपाली सेनासँगको समन्वयमा धनगढीसहित अन्य जिल्लाका अस्पताल तथा सार्वजनिक स्थलमा गरी अहिलेसम्म दुई सय १२ शैयाका वार्डहरु तयार गरिएका हुन्। शुक्रबार सम्मको तथ्यांक अनुसार प्रदेशका नौ जिल्ला अस्पताल र सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल लगायतमा एक सय २९ आइसोलेसन कक्ष स्थापना गरिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले बताए। 

धनगढीको सेती प्रादेशिक अस्पतालसंगै महाकाली अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल, बयलपाटा अस्पताल तथा प्रत्येक जिल्लाका जिल्ला अस्पतालहरुमा आइसोलेसन कक्ष स्थापना गरिएका हुन्।

सेती प्रादेशिक अस्पतालमा १०, महाकाली अस्पतालमा १०, टीकापुर अस्पतालमा १२, मालाखेती अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा २१, कैलाली अस्पतालमा ४०, जोगबुढा अस्पतालमा ८, डोटी अस्पतालमा २, अछाम अस्पतालमा १७, बाजुरा अस्पतालमा ३, दार्चुला अस्पतालमा ८, गोकुलेश्वर अस्पतालमा ४, बैतडी अस्पतामा ३, बयलपाटा अस्पतालका १३ र बझाङ अस्पतालमा २५ आइसोलेसन कक्ष स्थापना गरिएका छन्। 

त्यस्तै प्रदेश सरकारले नेपाली सेनाको समन्वयमा धनगढी रंगशालामा ६१ र डोटीमा ९ आइसोलेसन कक्ष स्थापना गरेको छ। 

 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस