सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित बोक्न डोटीका चार एम्बुलेन्स तयारी अवस्थामा

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र १५, ०६:४८

डोटी: कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित भएका शंकास्पद बिरामीलाई आइसोलेटेड वार्डसम्म पु¥याउन जिल्लाका चार स्थानीय तहले एम्बुलेन्स तयारी अवस्थामा राखेका छन्। 

दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा पूर्वीचौकी गाउँपालिकामा रहेका एम्बुलेन्सलाई कोरोना संक्रमित बोक्न स्वरुप परिवर्तन गरी तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।

उनले भने, “कोरोना सङ्क्रमित वा आशंका गरिएका बिरामी बोक्न आवश्यक उपकरणसहित एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ, बिरामी भएको खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लगिने व्यवस्था गरिएको छ।” उनका अनूसार चार वटै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको छ। 

जोरायलका उपाध्यक्ष जमुना बोहराका अनुसार एम्बुलेन्स चालकलाई सुरक्षित पोशाक पर्सनल प्रोटेक्सन इक्विप्मेण्ट, एन नाइन्टिफाइभ मास्क र  भाइरस निर्मलीकरण स्प्रे किट एक÷एक थान प्रदान गरिएको छ। एम्बुलेन्सको स्वरुपलाई परिवर्तन गरी चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर कोरोना संक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएको एम्बुलेन्स चालक लेकेन्द्रबहादुर छेडालले बताए। 

त्यस्तै एम्बुलेन्स चालकलाई जिल्ला अस्पतालको चिकित्सक टोलीले पिपिइ, पञ्जालगायत सुरक्षित सामग्री लगाउने तरिका र कोरोना बिरामीलाई ह्यान्डलिङ्ग गर्ने तरिकाका बारेमा तालीमसमेत प्रदान गरेको चालक छेडालले जानकारी दिए। यहाँका आइसोलेसन निर्माण गरिएका अस्पतालमा कोरोना सङ्क्रमितले मात्रै प्रयोग गर्ने गरी एक थान विशेष प्रकारको स्ट्रेचर पनि खरिद गरिएको छ। 

अस्पतालमा प्रयोग भइरहेका फलामको स्ट्रेचरमा अन्य बिरामी ओसार्नुपर्ने भएकाले एम्बुलेन्सबाट बिरामी झारेर आइसोलेसन वार्डसम्म लैजान अस्पतालमा विशेष प्रकारको स्ट्रेचर खरिद गरिएको जिल्ला अस्पतालका निमित्त मेसु डा. ज्योती पाण्डेले बताए। 

जिल्लामा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कसैमा पनि नदेखिए पनि बिरामी देखिएको खण्डमा तत्काल उद्धार तथा उपचार गर्नकालागि सम्पूर्ण तयारी गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए। 

भारतबाट काम गरेर आएका ३११ लाई भने यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखेर दैनिक जाँच गरिन थालिएको छ। क्वारेन्टाइनमा राखिएका कसैमा पनि कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए। –रासस
 

कमेन्ट लोड गर्नुस