सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्यकर्मीलाई सबैको साथ र सहयोग जरुरी छ : काँग्रेस ससंदीय दल

२०७६ चैत्र १४, १०:५६

नेपाली काँग्रेस संसदीय दलले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराई सबैको साथ र सहयोग जरुरी रहेको उल्लेख गरेको छ। संसदीय दलको तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले आज सरकारलाई ज्ञापन पत्रमार्फत आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्था गर्न माग गरेका छन्।

कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक रहेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ।

आम नागरिकले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सजकता र धैर्यता अपनाउनु आवश्यकता रहेको उल्लेख गर्दै प्रमुख सचेतक खाणले कोरोना महामारी फैलन नदिन लागु गरिएको लकडाउनलाई सफल बनाउन खटिएका सुरक्षाकर्मीलाई पनि गुणस्तरीय माक्स र सुरक्षा उपकरणको व्यवस्था गर्नुपर्ने बताए।

यसमा केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरुलाई समन्वयात्मक रुपमा अझै गतिशिल रुपमा परिचालन गर्न आवश्यक रहेको तथा सातै प्रदेशमा कोरोना भाइरस परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गनुपर्ने संसदीय दलको माग छ। यसैगरी सामाजिक र निजी सङ्घ/संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्थाको लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिई सरकारले प्रोत्साहन गर्न र सहयोग पु¥याउनु आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख छ।

लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदूरलाई खाद्यान्नको व्यवस्था गर्न स्थानीय निकाय, व्यावसायिक र सामाजिक सङ्घसंस्था तथा राजनैतिकर्मीले समन्वय गरी गतिशिल भूमिका निर्वाह गर्न अत्यावश्यक भएको संसदीय दलको भनाइ छ।

विश्वभर रहेका नेपालीको स्वास्थ्य र सुरक्षाको लागि कूटनीतिक निकायले सक्रियता बढाउनुपर्ने, लकडाउनका समयमा नेपालभर दीर्घ रोगी तथा नियमित रुपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका विरामी तथा अन्य रोगका किरामीलाई उपाचारको आवश्यक प्रबन्ध गर्न आवश्यक रहेको र दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहर व्यवस्थापन गर्न ध्यान पु¥याउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

प्रमुख सचेतक खाणले कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई पूर्ण साथ एवं सहयोग रहेको बताउँदै सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिएर उपयुक्त कदम चाल्न ध्यानाकर्षण गराएको बताए।–रासस
 

कमेन्ट लोड गर्नुस