सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएकालाई क्वारेन्टाईनमा नराख्दा प्रदेशको राजधानी नै असुरक्षित

२०७६ चैत्र १४, ०६:५२ कमल सावद

धनगढी: संघीय र प्रदेश सरकारले अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्न निर्देशन दिएपनि धनगढी उप–महानगरपालिकाले भने निर्देशनको अवज्ञा गरेको छ। कैलालीकै सीमा भएर धनगढी पुगेका स्थानीयलाई निगरानीमा नराख्दा अहिले अस्थायी राजधानीमै जोखिम बढेको छ।

मंगलबार गौरीफन्टा सीमा नाकाबाट प्रवेश गरेका धनगढी उप–महानगरपालिकाका २२ जनाको अवस्था बारे उप–महानगरपालिकालाई कुनै जानकारी छैन्। बुधबार भारतबाट आएका २४ जनालाई पनि घर पठाइएको छ। मंगलबार गौरीफन्टा सीमाबाट धनगढी प्रवेश गरेका २२ जनाको खोजी गर्न उप–महानगरपालिकालाई हैरानी भएका बेला पुनः बुधबार आएका २४ जनालाई पनि घर पठाइएको छ। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखा उप–संयोजक लक्ष्मीराज उपाध्ययले सबैको खोजी भइरहेको बताए।

तर अहिले सम्म सम्पर्क गर्न नसकिएको उनले बताए। ‘भारतबाट आएका २२ जनाको वडा अध्यक्ष मार्फत खोजी भइरहेको छ। तर सम्पर्कमा आएका छैनन्। आज उनीहरुको बारेमा पूर्ण जानकारी आउँछ। बुधबार आएकालाई पनि हिजो घर पठाएका छौ।’ उपाध्यायले भने। वडा अध्यक्षहरुले खोजी गर्न चुनौती रहेको बताएका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष रामबजारी चौधरीले उनीहरुको खोजी गर्न चुनौति रहेको बताए। वडा नम्बर १४ मा पाँच जना मंगलबार भारतबाट घर पुगेका छन्। चार दिन सम्म उनीहरुको अवस्था बारे सम्बन्धित निकाय बेखबर छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उनीहरुको खोजी गर्न वडा अध्यक्षलाई निर्देशन दिएको बताए।

स्वास्थ्यमा समस्या आए कैलाली उद्योग बाणिज्य संघको कार्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राख्ने दावी उनको छ। उनले उप–महानगरपालिकाले एक सय एक शैयाको क्वारेन्टाईन स्थापना गसिकेको बताउँदै आवश्यक परे एक हजार शैयाको क्वारेन्टाईन स्थापना गर्न तयार रहेको बताए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस