सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका क्वारेन्टाईनबाट भागाभाग

फाेटाे:हाेम साउँदकाे फेशबुक
फाेटाे:हाेम साउँदकाे फेशबुक
२०७६ चैत्र १४, १२:०९ कमल सावद

धनगढी- बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ५ कुवाकोटमा भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाईनमा राखिएको विषयलाई लिएर स्वास्थ्यकर्मी माथि नै आक्रमण भएको छ। परिवारका सदस्यले क्वारेन्टाईनमा राखेको विरोध गर्दै उनीहरुको निगरानीमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गरी कुटपिट गरेका छन् भने भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाएका थिए। उनीहरुको माग थियो, ‘भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्नु हुदैन्।’ चैत १२ गते भारतबाट फर्किएका सात जनालाई स्थानीय भूमिराज माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको विषयलाई लिएर नरेन्द्र जागिरीले छोरालाई क्वारेन्टाइनमा राखिएका भन्दै कुटपिट गरेका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी अहिले उपचारमा छन्।

पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवरले भारतबाट ठुलो संख्यामा आएकाहरुको व्यवस्थापन गर्न समस्या भएको सुनाए। भारतबाट फर्किएका धेरै भएकाले कोही भागेर घर गएको उनले बताए। क्वारेनटाईनमा नबसी घर गएकाहरुको खोजी गरिरहेको उनी बताउँछन्। ‘भारतमा कोरोनाको संक्रमण फैलिएपछि ठुलो संख्यामा नागरिक घर फर्किएका छन्। उनीहरु कोही सिधै घर गएका छन्। क्वारेन्टाइनमा बस्न मान्दैनन्। भाग्दै छन्। केहीलाई क्वारेन्टाईनमा राखेका छौ। तैपनि भाग्न थालेका छन्। उनीहरुलाई सम्झाउदैछौ।’ उनले भने। प्रदेशका अन्य ठाउँमा पनि क्वारेन्टाईनमा राखिएकाहरु भाग्न थालेपछि संक्रमणको जोखिम बढेको छ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि फर्किएकाहरुलाई क्वारेन्टाईनमा राखिएपनि भागाभाग भएको हो। विदेशबाट फर्किएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न संघीय सरकारले निर्देशन अनुसार स्थानीय तहले प्रबन्ध मिलाई व्यवस्थापन गरेका थिए। तर अहिले उनीहरु क्वारेन्टाईनबाटै भागिरहेका हुन्।

अछामको मंगलसेन नगरपालिकाले ५३ जनालाई क्वारेन्टाइनमा राखेको छ। तर उनीहरु पनि घर जान पाउनुपर्ने माग गरिरहेका छन्। तर नगरपालिकाले १४ दिन अनिवार्य क्वारेन्टाईन बस्न आग्रह गरिरहेको छ। नगर प्रमुख पदमबहादुर बोहराले क्वारेन्टाईनमा राखिएकाहरुका आवश्यक पर्ने लुगा कपडा, खानाको प्रबन्ध मिलाईएको बताए। तर नमान्दा सम्झाउन समस्या भएको प्रमुख बोहराले बताए।

‘भारतबाट जिल्ला सम्म आएका छन्। उनीहरुलाई पनि घर जान हतार भएको छ। रोगको सास्याको बारेमा भन्दा पनि उनीहरुलाई घर जान आतुर छन्। प्रत्येक दिन कोरोना भाइरसको बारेमा उनीहरुलाई सम्झाउदै आएको छु।’ उनले भने। डोटीमा १२ स्थानमा क्वारेन्टाईन स्थापना गरिएको छ। १२ क्वारेन्टाईनमा दुई सय ७३ जनालाई राखिएको छ। तर उनीहरुलाई पनि घर जान हतारीएका छन्। डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कोरोनाको जोखिमबारे बुझाउन खोज्दा पनि नसम्झीदा समस्या भएको सुनाए।

‘भारतबाट आएका दुई सय ७३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। विभिन्न स्थानीय तहमा १२ क्वारेन्टाइन बनाईएको छ। सुरुका दिनमा उहाँहरुले बस्न मान्नु भएन्। ५० ठाउँमा स्वास्थ्य परिक्षण गरिएको भन्दै उनीहरुले हैरान बनाएका थिए। अहिले समस्या छैन्।’

प्रमुख जिल्ला अधिकारी पौडेलले भने। धनगढी उप–महानगरपालिकाले क्वारेन्टाइमा रोखकाहरु घर गएका छन्। बुधबार भारतबाट आएका २४ जनालाई कैलाली उद्योग वाणिज्य संघको क्वारेन्टाइनमा राखिएको थियो। तर उनीहरु बिहिबार घर गएका हुन्।

धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखा उप–संयोजक लक्ष्मीराज उपाध्ययले २४ जनालाई घर फिर्ता गरिएको बताए। ‘उनीहरुको स्वास्थ्य परिक्षण गरेका छौ। उनीहरुमा कोरोना संक्रमणको आशंका नगरिएपछि घर पठाएका छौ।’ उनले भने।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस