कैलालीमा कोईलाको हल्ला फैलाउनेको खोजी सुरु
धनगढी : कैलालीमा कोईलाको हल्ला फैलाउनेको खोजी सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले कोईलाको टीका लगाएर कोरोनाको संक्रमणबाट जोगिने भन्दै भ्रम फैलाउनेको खोजी सुरु भएको जनाएको हो।
भ्रम फैलाउने व्यक्तिको खोजी भईरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘यस्ता भ्रम र झुट्टा कुराको पछाडि नलागी सरकारले आह्वान गरेको लकडाउनलाई साथ दिन आवश्यक छ। अनावश्यक हल्लाको पछाडि दौडिनु भन्दा भ्रम फैलाउने व्यक्तिको पहिचानमा सहयोग गरौं।’
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि कोईलाको हल्ला पछाडि नलाग्न जिल्लावासीलाई आग्रह गरे। कोरोनाको संक्रमणको रोकथामको लागि राति आकाशबाट नेपालमा खसेको उल्काबाट सबैको आगनमा कोईला भेटिएको हल्ला अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ।
बुधवार मध्यराती अधिकासंलाई फोनमा गर्दै ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस्। त्यहाँ कालो अँगार जस्तो वस्तु भेटिने छ। त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्।’ भन्ने भ्रम फैलाईएको थियो।
के हो कोईलाको हल्ला र भ्रम
धनगढीमा बस्दै आएका तीर्थराज भट्ट हाल स्थायी घर डोटीको जोरायल गाउँपालिकामा छन्। बिहिवार मध्य राती उनलाई फोन आयो र उनले फोन उठाए। फोनमा सन्देश थियो, ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस्। त्यहाँ कालो अँगार जस्तो वस्तु भेटिने छ। त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्।’
त्या फोन सन्देश उनलाई मात्रै होईन धेरै छिमेकीलाई पनि आएको रहेछ। चार बजे बिहानै गाउँटोलका सबै स्थानीय आँगन खन्न लागे। त्यस्तै सन्देश सहितको फोन धनगढी निवासी सीताराम भट्टलाई पनि आएको जानकारी उनले सामाजिक सञ्जाल मार्फत गराएका छन्।
धनगढीकै प्रकासराज भट्टलाई पनि बिहानै पाँचै बजे फोन आएपछि उनले फोन उठाउँदा उताबाट सन्देश थियो, ‘घरको मूल ढोका अगाडिको दायाँतर्फ आँगनमा उज्यालो नहुँदै खन्नुहोस् त्यहाँ कालो अँगारजस्तो वस्तु भेटिने छ। त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् त्यो कोरोनाको औषधी हो।’
यो सन्देश सहितको फोन अहिले सुदूरपश्चिमका धेरै जिल्लामा गईरहेको छ। घर अगाडी अधिकासंले आगो बाल्ने र त्यहाँ अंगार भेटिने नै हुने भएकाले भ्रम फैलाउनका लागि यो सन्देश फैलाईएको धेरैको बुझाई छ।