सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको मंगलसेनमा ५० जनालाई क्वारेन्टाइनमा राखियो

२०७६ चैत्र १२, ०६:४१ खबर संवाददाता

कमल रावल, अछाम: कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरेर अछाम पुरयाइएका ५० जनालाई मंगलसेनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ। 

नगरपालिकाको कृषि ज्ञान केन्द्रको भवनमा क्वारेन्टाइन स्थापनागरी अछामका ८ स्थानीय तहका १२ बालबालिका, २८ पुरुष र १२ जना महिलागरी ५० जनालाई चेकजाँचसहित सुरक्षित तरिकाले क्वारेन्टाइनमा राखिएको मंगलसेन नगरपालिकाले जनाएको छ।

जसमा मंगलसेन नगरपालिकाका ११, चौरपाटी गाउँपालिकाका १०, कमलबजार नगरपालिकाका ८, ढकारी गाउँपालिकाका ८, मेल्लेख गाउँपालिकाका ६, साँफेबगर नगरपालिकाका ३, रामारोशन गाउँपालिकाका २ र पञ्चदेवल विनायक नगरपालिकाका १ जना रहेको मंगलसेन नगरपालिकाका नगरप्रमुुख पदमबहादुर बोहराले बताए।  

प्रमुुख जिल्ला अधिकारीसहित स्थानीय तहका जनप्रतिनिधीसँग समन्वय गरी सिधै मंगलसेन ल्याएर क्वारेन्टाइनमा राखिएकाले सबैजना सुरक्षित रहेका उनले बताए। भारतबाट आएकाहरुले १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य रहेकाले स्वास्थ्य चेकजाँच, खान, बस्नसहित आवश्यक प्रबन्ध नगरले गरिसकेकाले आफन्तलाई नआत्तिन समेत बोहराले आग्रह गरेका छन्।  

मंगलसेनको क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। उनीहरु मध्ये कसैमा पनि कोरोनाभाइरसको कुनै लक्षण नदेखिएकाले सुरक्षित क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पतालका डाक्टर अतुल भारद्धाजले बताए। १४ दिनसम्ममा कुनै लक्षण देखिए तुरुन्तै जिल्ला अस्पतालको आइसेलेसन बेडमा राखेर उपचार गरिने उनले बताए। 

कमेन्ट लोड गर्नुस