सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड– १९ः बैतडीका स्थानीय तहमा बढ्दो सतर्कता

२०७६ चैत्र १२, ०४:५९

बैतडी: विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न बैतडीका स्थानीय तहले पनि सतर्कता अपनाएका छन्। सङ्क्रमणबाट बच्न जिल्ला बाहिर तथा अन्य देशबाट फर्किएका नागरिकलाई स्थापना गरिएका हेल्थ डेस्कमा जाँच गर्ने, सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्ने, माइकिङ गरेर सन्देश प्रवाह गर्नेलगायतका कार्य भइरहेका छन्। 

गाउँगाउँमा गएर वडा कार्यालयले जनचेतनामूलक कार्यक्रम गरिरहेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए।  मेलौली नगरपालिकाले पनि घरदैलोमै गएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोलीले घरदैलोमै गएर जनचेतना जगाउने कार्य गरिरहेको मेलौली नगरपालिका–५ का वडाध्यक्ष बलभद्र दयालले बताए।  

दशरथचन्द नगरपालिकाले पनि वडास्तरबाटै जनचेतनामूलक कार्यक्रम अगाडि बढाएको उपप्रमुख मीना चन्दको भनाइ छ। वडा नं २ का वडाध्यक्ष रनबहादुर बोहराका अनुसार घरदैलोमै गएर सचेतनाका कार्यक्रम सञ्चालन भइरहेका छन्। वडाका सम्पूर्ण जनप्रतिनिधिको टोली घरदैलोमै पुगेर सचेतना फैलाउनाका साथै प्रतिपरिवार दुई वटाका दरले साबुनसमेत वितरण गरिएको छ। हात धुनका लागि उत्प्रेरणा मिलोस् भनेर साबुन वितरण गरिएको वडाध्यक्ष बोहराको भनाइ छ।   

पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि कोरोना भाइरसविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएका छन्। यसका साथै जिल्ला प्रहरी कार्यालयले पनि माइकिङबाट सचेतनामूलक सन्देश प्रवाह गरिरहेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। 

निंग्लाशैनी भगवती मन्दिरमा पशुबली नहुने
बैतडीको देहिमाडौँमा रहेको प्रसिद्ध निंग्लाशैनी भगवती मन्दिरमा यो वर्षको चैतेदशैँमा पशुबलि नहुने भएको छ। यसअघि दशरथचन्द नगरपालिका—२ को कार्यालय र निंग्लाशैनी भगवती धार्मिक सेवा समितिको चैत ९ गते बसेको बैठकले घटस्थापनादेखि बलि चढाउन सकिने निर्णय गरेको थियो।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रन सक्ने भन्दै भीडभाडका कार्यक्रम नगर्न आग्रह गरेकाले राँगाको बलि स्थगित गरिएको वडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिए। 

जल्लामा कोरोना भाइरस भित्रिन्न नदिन जिल्ला प्रशासन कार्यालयलेले मङ्गलबारदेखि चैत १८ गतेसम्म लकडाउनसमेत घोषणा गरिसकेको छ। साथै मेला पर्व नमनाउन आग्रह गरेको छ भने सीमा नाका पनि बन्द गरिएका छन्। यस्तै मेलौली भगवती मन्दिरमा पनि नवरात्रिको बेला हुने पूजाआजाको कार्यक्रम नहुने जनाइएको छ।  

पाटनमा ३४ बेडका आइसोलेसन केन्द्र
बैतडीको पाटन नगरपालिकाले ३४ बेडका चार छुट्टाछुट्टै आइसोलेसन केन्द्र निर्माण गरेको छ। पाटन नगरपालिका–६ मा रहेको विपद् व्यवस्थापन समितिको भवन, वडा नं ८ स्थित सिद्धदीप आधारभूत विद्यालय, वडा नं ४ भूमेश्वरमा रहेको भूमेश्वर माविमा १०/१० श्ययाको आइसोलेसन केन्द्र निर्माण गरिएका  हुन्। 

यस्तै वडा नं। ३ को सिगास मावि गुरुडामा पनि चार श्ययाको आइसोलेसन केन्द्र निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।  कोरोना सम्भावित लक्षण देखिएका बिरामीलाई निगरानीमा राखी तत्कालका लागि उपचार गर्न श्ययाको स्थापना गरिएको उनले भने। पाटन नगरपालिकाले यसअघि पाटन, खोडपे र अनारखोलीमा हेल्थ डेस्क स्थापना गरेको थियो। -रासस/विनोदसिँह विष्ट  

कमेन्ट लोड गर्नुस