सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लकडाउन’मा सुदूरपश्चिमका सांसद के गर्दैछन् ?

२०७६ चैत्र १२, ०४:४२ जनक विष्ट

विश्व स्वास्थ्य महामारीको रुपमा देखिएको कोरोना भाईरसको संक्रमण थप फैलिन नदिने सरकारले लकडाउन गरेको छ। लकडाउनको दोस्रो दिन आज पनि मानिसहरु घर भित्रै सुरक्षित रुपमा बसेका छन्। समान्य नागरिक मात्र हैन् लकडाउनका कारण सांसदहरुको दैनिकी पनि फेरिएको छ। सुदूरपश्चिममा पनि सांसदहरु लकडाउन गर्ने सरकारको निर्णय कार्यान्वयनमा सघाउदै सुरक्षित रुपमा बसेका छन्।

नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारालामा तामाङले सरकारले गरेको निर्णयको पूर्ण रुपमा कार्यान्वयन गर्दै कोरोना विरुद्धको लडाईमा आफू पनि सहभागी भएको बताए। ‘सरकारले देशभर लकडाउन गरेपछि म पनि घरमै बसिरहेको छु।’ तामाङले भने, ‘तरपनि मेरो क्षेत्र सीमा क्षेत्रमा परेको हुनाले यस्तो बेला समस्या पर्नेहरुका लागि समन्वय र सम्पर्क गर्दैछु।

सबै माननीय ज्यूहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रको जनताहरुलाई छिमेकी भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई निगरानीमा राख्न अनुरोध गरेको छु।’लकडाउनको बेला सेल्फ क्वारेन्टाईनमा बसेपनि सांसदहरुलाई  नागरिकहरुले समस्या लिएर सहयोगको याचना भने गरिरहेकै छन्। विगतमा भेटघाट गरेर नागरिकलाई सक्दो सहयोग गर्ने तथा सम्बन्धीत निकायमा पहल गर्दै आएकोमा अहिलेको अवस्था फेरिएपछि सांसदहरुले पनि ढाचा फेरेका छन्।

भारतबाट सीमा नाकामा अलपत्र परेका नागरिक तथा सम्भावित विरामीको उद्दारका लागि घरबाटै सहयोग गरिरहेको भनाइ नेकपाकै अर्का सांसद पूर्णा जोशीको छ। उनले आफू सचेत पूर्वक घर भित्रै बसेपनि आम नागरिकका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पहल गरिरहेको बताईन्। ‘हामी एकदम होसियार पूर्वक कोठामा बसेका छाँै।

कोरोना विरुद्धको सरकारको अभियान तथा निर्णय कार्यान्वयमा सहयोग पुगाउने र आफ्नो स्वास्थ्यलाई ख्याल गरी सेल्फ क्वारेन्टाईनमा छौँ।’ जोशीले भनिन्, ‘सामाजिक सञ्जाल तथा टेलिफोन सम्पर्कबाट हाम्रा नागरिकहरु कसरी व्यवस्थित भईरहेका छन्, समस्या के छ भन्ने कुराको सोधीखोजी गरी सहयोग गरिरहेका छौँ।

अरुलाई पनि घर भित्रै सुरक्षित तवरले बस्न अनुरोध गर्दछु।’ सत्तापक्ष मात्र होईन् प्रतिपक्षी दलका सांसदहरुले समेत सरकारको निर्णयलाई सघाउँदै कोरोना विरुद्धको लडाईमा ऐक्यबद्धता जनाएका छन्। उनीहरुले पनि लक डाउनको समयमा घर बाहिर ननिस्कने, आफ्नो निर्वाचन क्षेत्रका जनतालाई परेको पिर, मर्काका विषयमा घरबाटै जानकारी लिएर समाधान खोज्ने तथा अरुलाई पनि सचेतना जगाउने काम गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरसलाई लिएर सरकारले लकडाउन गरेपछि घरमै रहेको बताए। उनले सेल्फ क्वारेन्टाईनमा बसेर सरकारका निर्णयको पूर्ण कार्यान्वयनमा सहयोग गरिरहेको बताए।

‘कोरोनासँग जुध्न सरकारले जुन निर्णय बनाएको छ त्यो अनुसार नै सबैसँग सम्पर्क नगरेर घरमै बसेको छु।’ खड्काले भने, ‘यस्तो विपत्तीका बेला हामीले पनि नागरिक दायित्व निर्वाह गर्नुपर्छ, सरकारलाई सघाउनुपर्छ।’ प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसद कृष्णबहादुर चौधरीले पनि आफू सरकारको निर्णयलाई सघाउन सुरक्षित रुपमै घरमा बसेको बताए।

‘कोरोनाबाट बच्न हामी नेपालीहरु बडो सचेत तथा सजग बन्नुपर्छ।’ चौधरीले भने, ‘विगत एक हप्तादेखि सबै किसिमका भेटघाट बन्द गरेर घरमै बसेको छु।’ विश्वव्यापी स्वास्थ्य महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिट–१९) बाट अहिले सम्म नेपाल सहित विश्वका एक सय ९४ देश प्रभावित भईसकेका छन्।

छिमेकी भारतमा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएका बेला नेपालमा पनि तीन जना संक्रमित भेटिएका छन्। जसमा एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अन्यको उपचार भईरहेको छ। कोरोनाको थप संक्रमण नफैलियोस भनेर सरकारले मंगलबारदेखि एक हप्ता लकडाउनको घोषणा गरिसकेको थियो।  विपत्तीका बेला तपाई हामी सबैले सरकारको निर्णयको पूर्ण कार्यान्वयनमा सघाउँदै कोरोनाको जोखिमबाट बच्ने र अरुलाई बचाउन भूमिका खेल्नुपर्छ।  
     
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस