सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएर डडेल्धुरा पुगेका स्थानीय क्वारेन्टाइनमा बस्न मानेनन्

२०७६ चैत्र १२, ०३:५९ आशिष मल्ल

धनगढी: विश्वव्यापी महामारीको रुपमा फलिएको कोभिड – १९ को रोकथामका लागि देशभर लकडाउन भएपछि भारतीय सीमा नाका भएर आएका ५२ नेपालीलाई डडेल्धुराका विभिन्न स्थानीय तहले तयार पारेका क्वारेन्टाइनमा राखिएको छ।

नेपाल लकडाउनपछि कैलाली र कञ्चनपुरका सीमा नाकामा अपलत्र परेका नेपालीलाई मंगलबार प्रदेश सरकार र स्थानीय प्रशासनले उद्धार गरी सम्बन्धित जिल्ला पठाएको थियो। त्यसपछि डडेल्धुराका विभिन्न स्थानीय तह पुगेका उनीहरुलाई क्वारेन्टानमा बस्न भनिएको छ।

सबैभन्दा बढी ४४ जनालाई जिल्लाको परशुराम नगरपालिकामा रहेको त्रिवेणी बहुमुखी क्याम्पसमा बनाइएको क्वारेनटाइनमा राखिएको छ। यस्तै अजयमेरु गाउँपालिकाले पनि ५ जनामध्ये ३ जनालाई सहश्रलिङग माविमा र २ जना देवलमा रहेको क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रवक्ता शिवराज भट्टले जानकारी दिए।

भागेश्वर गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा भारतबाट फर्किएका तीन जनालाई राखिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोक्काले जानकारी दिए।

स्थानीयद्वारा क्वारेन्टाइनमा बस्न अटेरी

संघीय सरकारले भारतबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउन स्थानीय तहलाई निर्देशन दिएपनि स्थानीय क्वारेन्टाइनमा बस्न मानेका छैनन्।

भारतबाट आएका ३० जनालाई डडेल्धुराको अमरगढी नगरपालिकाले बुधबार क्वारेन्टनाइनमा राखेको थियो। उनीहरुलाई डडेल्धुरा क्याम्पसको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। ‘अमरगढीमा दुई स्थानमा क्वारेन्टाइन छन्, एउटा क्याम्पस अर्को बन्द अवस्थामा रहेको अपी अस्पताल, उनीहरु त्यहाँ बस्न मानेन्’ उनले भने, ‘आज घरमा एक्लै क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धता लिएर घर जान दिएका छौं।’

यस्तै परशुराम नगपालिकाको क्वारेन्टाइनमा पनि स्थानीय बस्न नमानेको नगरप्रमुख भीमबहादुर साउँदले बताए। ‘आएका ४४ जनालाई चेकजाँचपछि क्वारेन्टाइनमा राखेका त छौ, तर उनीहरु पुरै १४ दिन त्यहाँ बस्दैन भन्दैछन्’ उनले भने, ‘केही आलिताल गाउँपालिकाका समेत रहेकाले गाउँपालिका अध्यक्ष र यस नगरका सम्पूर्ण वडा अध्यक्षलाई बोलाएर जिम्मा लगाउने छौ।’

उता गन्यापधुरा गाउँपालिकाले क्वारेन्टाइनको लागि स्थल तयार पार्दा समेत भारतबाट आएकाहरु बस्न नमानेको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए। ‘गाडी तयार छ, सबैलाई घरघरमै गएर सचेत गराइरहेका छौं तर उनीहरु घरमै सुरक्षित बस्छौ भनेर आलटाल गरिरहेका छन्’ उनले भने।

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस