सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा वडा अध्यक्षको माईकिङ : कोही पनि घर बाहिर ननिस्कनुस्

२०७६ चैत्र १२, १२:०४ खबर संवाददाता

अछाम- अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी बुधबार बिहानै गाउँ छिरे। उनी गाउँका नागरिकलाई कोरोना भाइरस (कोभिट–१९) को संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गर्नमा जुटेका छन्।

हातमा माईक लिदै गाउँको डाडा तथा अग्लो ठाउँबाट माईकिङ गरिरहेका छन्। भन्छन्, ‘तपाईहरु घरबाट बाहिर कोही पनि नआईदिनु। कोरोना भाइरसबाट आफु जोखिनुहोस,अरुलाई पनि जोगाउनुहोस।’ बुधबार क्षेत्र लगायतमा नागरिकलाई उनले घरबाहिर नआउन आग्रह गरेको बताए।

‘विश्वभरी नोभेल कोरोना भाइरसका कारण त्रास फैलिएको छ। नेपालमा पनि लक डाउन गरिएको छ। यस्तो अवस्थामा तपाईहरु घर बाहिर नआउनु होला। अति आवश्यक कामका लागि बाहिर आउनु भएमा सावुन पानीले हात धोएर मात्र भित्र जानु होला’ उनी भन्छन्। पहुनालाई पनि घरमा प्रवेश गर्न नदिन उनले नागरिकहरुलाई आग्रह गरिरहेका छन्।

भारतबाट आएकाहरुलाई पनि १४ दिन सम्म परिवारका अन्य सदस्यको सम्पर्कमा नआउन र छुट्टै कोठामा बस्न उनले आग्रह गर्दैछन्। उनले बाँकी रहेका गाउँहरुमा पनि सन्देश फैलाउन जान तयारीमा रहेको बताए।

कमेन्ट लोड गर्नुस