सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायलमा कोरोना रोकथामको अभियानमा युवाहरुको साथ

२०७६ चैत्र ११, ०७:०१ खबर संवाददाता

विश्वमा महामारिको रुपमा रहेको कोरोना भाईरसबाट बच्न जोरायल गाउँपालिकाको स्वास्थ्य शाखाले सचेतना अभियान सञ्चालन गर्ने भएको छ। उक्त अभियानलाई प्रभावकारी बनाउन त्यहाँका युवाहरूले पनि साथ दिने बताएका छन्। जोरायल गाउँपालिकाको उक्त सचेतना अभियानका लागि युवाहरूले विभिन्न व्यक्तिको सहयोगबाट जुटेको रकमबाट ८ सय ६४ वटा साबुन आजै जोरायल गाउँपालिकाको स्वास्थ्य शाखाका नन्द देउवालाई हस्तान्तरण गरेका छन् भने सहयोग स्वरुप उपलब्ध भएका ६ सय ७३ साबुन भोली हस्तान्तरण गर्ने तयारी गरिएको छ।

’एक घर एक साबुन’ को लक्ष्यमा रहेका युवाहरूले विभिन्न ठाउँबाट सहयोग पाइरहेको बताएका छन्। तीन हजार ८ सय ३ घरधुरी रहेको जोरायल गाउँपालिकामा स्वास्थ्य शाखाले सचेतना सहित साबुन वितरणमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने जनाएको छ। जोरायल गाउँपालिकाले कोरोनाको जोखिमबाट बच्न गरेको पूर्व तयारीको बारेमा बुझ्न गएका युवालाई धन्यवाद दिँदै गाउँपालिकाका अध्यक्ष दुर्गा ओझा, उपाध्यक्ष जमुना बोहरा र प्रशासकीय प्रमुख तेजु खत्रीले मानवीय स्वास्थ्यलाई गम्भीर रुपमा लिएको र जोरायल गाउँपालकिा आवश्यक तयारीमा रहेको बताए।

यसैगरी स्वास्थ्य शाखालाई कोरोनाको चेकजाँचका लागि आवश्यक पर्ने सामग्रीहरू खरिद गरी घुम्ती शिविर पनि सञ्चालन गर्न निर्देशन दिइसकेको अध्यक्ष ओझाले जानकारी दिए। भारतबाट फर्केका व्यक्तिहरूलाई विशेष निगरानीमा राख्न उनीहरूको तथ्याङक संकलन गर्ने कार्य भइरहेको गाउँपालिकाकाको वडा नम्वर ३ का वडा अध्यक्ष दिनेश मल्लले जानकारी दिए।

कमेन्ट लोड गर्नुस