सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा विपद् व्यवस्थापन कोष खडा, स्वास्थ्य जाँचपछि मात्रै घर जान पाइने

२०७६ चैत्र १०, ०१:३९

डोटी:  कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्लाका दुईवटा गाउँपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरेका छन्। जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले ५० लाख तथा पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाले ३० लाखको विपद् व्यवस्थापन कोष खडा गरेको छ।

ती  गाउँपालिकामा आज बसेको गाउँपालिकाको बैठकले सम्भावित खतरालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए। उनले भने, “कुनै आपत परिहाले तत्काल खर्च गर्न हामीले कोष खडा गरेका छौँ।”

त्यस्तै बोगटान फुड्सिल गाउँपालिकाले आफनो गाउँपालिकाको प्रवेशद्वार गगुडामा हेल्थ डेस्कको स्थापना गर्नुका साथै कोरोनाको सङ्क्रमणबाट बच्न रु ५० लाखको कोष स्थापना गरेको गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाले बताए। उनले भने, “हामीले गाउँपालिकाको मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क स्थापना गरेका छौँ, भारतबाट आएकालाइ अनिवार्य जाँच गरिने छ, विपद् परिहाले कोष बनाएका छौँ, कोरोनाको सामना गर्न तयार छौँ।” 

यतिमात्र नभई उक्त गाउँपालिकाले स्थानीय मष्टेश्वर मावि गगुडा, खत्याडी मावि, भगवतेश्वर मेल्टामा र सिमचौर माध्यमिक विद्यालयमा सङ्क्रमतिलाई राख्न लागि क्वारेन्टाइन बनाउने तयारी गरेको छ।  गाउँपालिकाको केन्द्र खत्याडीमा हेलिप्याड निर्माण गर्ने, भारत तथा बाहिरबाट आएका व्यक्तिका तथ्याङ्क सङ्कलन गर्ने, अत्यावश्यक कामबाहेक स्वास्थ्यकर्मीलाई बिदा नदिने, स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्यकर्मी र महिला स्वयम्सेविका परिचालन गर्ने तयारी गरिएको गाउँपालिका उपाध्यक्ष भवगती बमले जानकारी दिए।

स्वास्थ्य जाँचपछि मात्रै घर जान पाइने
दिपायल सिलगढी नगरपालिकाले भारतबाट जिल्लामा आउन थालेका यहाँका स्थानीयवासीलाई जाँचपछि मात्रै आफ्नो घर प्रवेश गर्न दिने व्यवस्था मिलाएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलस्थित पिपल्ला बजारमा कोरोना भाइरसको जाँच कक्ष नै खोलेर भारतबाट कामगरी घर फर्किन थालेका स्थानीयवासीलाई जाँचपछि मात्रै घर जान दिन थालेको छ।

यहाँका बजार तथा गाउँघरमा केरोना भाइरसको सङ्क्रमण आउन नदिन यस क्षेत्रमा प्रवेश गर्ने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य जाँच शुरु गरिएको छ। 

नगरपालिककाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेर भारतबाट आउन थालेकाको चौबिसै घण्टा स्वास्थ्य जाँच गर्न थालेको छ।

उक्त स्वास्थ्य जाँच स्थलमा भारतबाट आएकाको भिड लाग्न थालेपछि जिल्लाका अन्य स्थानीय तहबाट पनि स्वास्थ्यकर्मी मगाई स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउन थालिएको नगरप्रमुख मञ्जु मलासीले बताए। स्वास्थ्य जाँच सहायता कक्ष नै स्थापना गरी सबै यात्रुको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए। 

शनिबारदेखि शुरु गरिएको उक्त स्वास्थ्य जाँचको तेस्रो दिनसम्म कम्तीमा पनि करीब एक हजार यात्रुको ज्वरो मापन र अन्य स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको शैलेश्वरी अस्पतालका चिकित्सक आइजङ्ग कुँवरले जानकारी दिए। जाँचका क्रममा कुनै पनि व्यक्तिमा ज्वरो, खोकी जस्ता समस्या नदेखिएको उनको भनाइ छ। 

त्यस्तै भारतबाट आएका स्थानीयवासीको स्वास्थ्य जाँचका क्रममा शङ्कास्पद लक्षण देखिए त्यस्ता व्यक्तिलाई राख्न जिल्ला अस्पताल डोटीमा एक छुट्टै आइसोलेशन कक्षको स्थापना गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो ।

नयाँ वर्षलाई सुदूरपश्चिमका स्थानीयले बिसु पर्वका रुपमा मनाउने गर्दछन् । त्यसैगरी डोटी चेम्वर अफ कमर्सले कोरोना भाइरसको जोखिमबाट बच्न गाडी चालक र सर्वसाधारणलाइ निःशुल्क रुपमा मास्क वितरण गर्नाका साथै स्वास्थ्य जाँचमा सहयोग गर्न थालेको छ। 

कोरोनाको त्रासले गाउँमा चहलपहल
दशैँ तिहारजस्ता चाडपर्वले समेत गाउँ नफर्काएकालाई कोरोना भाइरसको त्रासले गाउँ आउन बाध्य बनाएपछि अहिले डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका गाउँबस्तीमा चहलपहल बढेको छ। कोरोना भाइरसको सतर्कतास्वरुप विद्यालय, क्याम्पस तथा कार्यालय बन्द भएसँगै यहाँका गाउँबस्तीमा चहलपहल बढेको हो। 

केही दिनअघिसम्म सुनसान देखिएका डोटीका ग्रामीण क्षेत्रका गाउँबस्तीमा चहलपहल बाक्लो भएको बडीकेदार गाउँपालिका–१ का स्थानीयवासी रोजबहादुर कलेलले बताए। तराई तथा शहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाइँ सरेकासमेत हिजोआज गाउँघरमा भेटिन थालेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी बमबहादुर बमले जानकारी दिए।

ठूला चाडपर्वले समेत गाउँ नफर्काएकालाई पनि कोरोना भाइरसको त्रासले अहिले आफ्नै गाउँ आउन बाध्य बनाएको जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ साना गाउँका श्यामबहादुर खड्काले बताए। उनले भने, “शहर बजारमा बढी भीडभाड हुन थालेपछि कोरोना फैलिन सक्ने डर गाउँमा आएका छौँ, गाउँमा शान्त छ, शहर बजारको जस्तो भीड नभएकाले आनन्द भएको छ।” 

विगतको समयमा गाउँघरमा जनशक्ति नभएपछि सयौँ रोपनी खेतबारी बाँझो भएको भए पनि युवा जनशक्ति अहिले गाउँ फर्किएसँगै यस वर्ष ती बाँझा खेतबारीमा अन्नबाली लगाउन सकिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए। उनले भने “गाउँ छाड्ने प्रवृत्तिले यहाँका सयौँ रोपनी खेतीयोग्य जमीन बाँझो अवस्थामा थिए अहिले सबै घर फर्किन थालेका छन, बाँझो जमीनमा खेती गरेर अन्न उत्पादन बढ्ने भयो।”

पछिल्लो समय गाउँ छोडेर गएका तथा कामका लागि भारतका विभिन्न शहर गएका युवालगायत अन्य स्थानीयवासी धामधम गाउँ फर्किन थालेपछि गाउँघरमा चहलपहल बढ्नाका साथै गाउँको विकास हुनेमा स्थानीय वृद्धवृद्धाहरु निकै खुशी भएका छन्। 

कोभिड–१९ का कारण विश्वकै आर्थिक क्षेत्रमा उल्लेखनीय गिरावट आउने आङ्कलन गरिए पनि डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा यसको प्रभाव न्यून रहेको सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका क्षेत्रीय निर्देशक यज्ञराज जोशीले बताए।

खाना पकाउन दाउरा, भान्छामा मकैको च्याँख्ला तथा गाउँमै फलेका तरकारी पाक्ने भएकाले अन्य क्षेत्रका बजारमा जस्तो समस्या गाउँमा नहुने जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए। सडक मार्गबाट एक हप्तामा कम्तीमा पनि एक हजारजनाको सङ्ख्यामा स्थानीयवासी जिल्ला भित्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ। 

एक हप्तामा सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्ला भित्रिने भीमदत्त पन्त राजमार्गबाट कम्तीमा पनि ५२७ जीप र १०० बसमार्फत कम्तीमा पनि पाँच हजार ७९७ नागरिक भित्रिएको पहाडी जिल्लाका नाकाका रुपमा रहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय बुडर डोटीले जनाएको छ। सार्वजनिक गाडीको अभिलेख प्रहरीसँग भए पनि निजी गाडीबाट पनि ठूलो सङ्ख्यामा यात्रु भित्रिएको प्रहरीको भनाइ छ। 

जिल्लाबाट बाहिरिनेको सङ्ख्या कम र भित्रिनेको सङ्ख्या अत्यधिक रहेको शैलेश्वरी यातयात व्यवसायी समितिका कार्यालयप्रमुख प्रेमबहादुर रावलले जानकारी दिए। जिल्ला छोडेर गएकाहरु आउन थालेपछि यहाँका गाउँघर अहिले निकै रमणीय बन्दै गएको स्थानीयवासी बताउँछन्। -विमल विष्ट/रासस

कमेन्ट लोड गर्नुस