कैलालीमा तामा सम्झेर पिट्दा विस्फोट भएपछि २७ फिट पर हुत्तिए विक, घटनास्थलमै मृत्यु
धनगढी : माघ २८ गते कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय धनवहादुर धामी बोका खरिदका लागि छुट्टै गाउँतिर लागे। दोश्रो दिन बोका खरिद गरेर फर्किदा वडा नम्वर ४ कै एक जंगलमा उनले तामा जस्तै देखिने बस्तु फेला पारे र घरमा लगे।
झण्डै डेढ महिना सम्म घरमै राखेका उनले आईतवार मात्रै आरनमा लगेर गए। आरनमा धामीले पंखा चलाए, आरन व्यवसायी गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीका ४० वर्षीय नरबहादुर बिक तामा जस्तै देखिने बस्तु तताउन र पिट्न थाले। झण्डै २० मिनेट सम्म तताएर पिट्दा एक्कासी विस्फोट भएपछि बिक झण्डै २७ फिट पर हुत्तिए र उनको घटनास्थमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले अत्तरियाबाट झण्डै पाँच घण्टाको दुरीमा रहेको घटनास्थलमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञान वहादुर विष्टको टोली पुगेर फर्किएको बताए।
उनले भने, ‘धामीलाई नियन्त्रणमा लिएका छौँ। मृतकको शव पनि ल्याईरहेका छौ। घटनाको अनुसन्धान भईरहेको छ।’