सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सकले भने-भीडभाडले सुदूरपश्चिममा जोखिम बढायो, तत्काल क्वारेन्टाईन चाहियो

कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल फर्किदै गरेकाहरु। तस्बिर:पत्रकार लक्ष्मण तिवारीको फेसबुकबाट
कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल फर्किदै गरेकाहरु। तस्बिर:पत्रकार लक्ष्मण तिवारीको फेसबुकबाट
२०७६ चैत्र ८, ०४:२२ जनक विष्ट

सुदूरपश्चिममा मानिसको भीडभाड नियन्त्रण गर्नुपर्ने बेला बढेपछि चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन्। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को संक्रमण हुन नदिन आवागमनलाई नियन्त्रण गर्नुपर्ने सीमा नाका र सार्वजनिक स्थलहरुमा भीडभाड बढेपछि चिन्ता व्यक्त गरेका हुन्।

उनीहरुले स्पर्शको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने कोरोना भाईरसको जोखिम बढेको भन्दै भीडभाडलाई तत्काल नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन्। ‘संक्रमणको डरले सीमा नाका र संघिय राजधानी काठमाडौँबाट फर्किने क्रम धेरै बढेको छ। यो सबभन्दा डरलाग्दो पक्ष हो।’ सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमरले भने, ‘अस्पतालहरुमा पनि बिरामीको भीडभाड त्यती नै छ। सकेसम्म कम भए हुने थियो। तर नियन्त्रण भएको छैन्।’

सीमा क्षेत्र र सार्वजनिक यातायातमा देखिएको भीडलाई नियन्त्रण गर्न नसकेमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै गम्भीर बन्नुपर्ने सुझाव उनको छ। छिमेकी भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले सीमा क्षेत्रबाट फर्किनेको माध्यमबाट कोरोना भित्रिने आशंका गरिएको छ। उनले राज्यका निकायले नै भीडभाडलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिदै डाक्टर कमरले कुनै हालतमा कोरोना फैलिए भयावह बन्न सक्ने तर्फ सचेत बन्नुपर्ने उल्लेख गरे।

‘अहिलेको भीडभाडलाई नियन्त्रण गर्न सकेनौँ भने कोरोना फैलिने सम्भावना छ, यदी फैलियो भने अहिलेको स्थितीमा उपलब्ध स्रोत साधन, जनशक्तिले उपचार गर्न सक्ने क्षमता धेरै कम छ।’ डाक्टर कमरले भने, ‘अहिले हामी जुन ठाउँमा छौँ त्यही बस्न सक्यौँ, आउजाउ गरेनौँ भने सर्नबाट बच्न सक्छौँ, कुनै हालतमा कोरोना फैलिएमा कल्पना भन्दा बाहिरको अवस्था आउन सक्छ।’

तत्काल क्वारेन्टाईन व्यवस्थापन गर्न जरुरी 
फिजिसियन डाक्टर शेरबहादुर कमर, छिमेकी भारतमा कोरोना फैलिसकेका बेला सीमा नाकाबाट फर्किरहेकाहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्नुपर्ने बताउँछन्। मानिसको शरिरमा कोरोना भाईरसको जिवार्णु प्रवेश गरे तत्कालै संक्रमण देखिन नसक्ने भएकाले अनिवार्य क्वारेन्टाईनमा राख्नुपर्ने बताए।

उनले भाईरस प्रवेश गरेको १४ दिन सम्म जुनसुकै बेला पनि संक्रमण देखिने भन्दै विदेश र काठमाडौँबाट फर्किरहेकाहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था सरकारले मिलाउनुपर्ने सुझाव दिए। होम क्वारेन्टाईनको विषयमा आम नागरिकले स्पष्ट रुपमा बुझ्न नसकेकाले समस्या हुने उनको भनाई छ।

‘आम समुदायले होम क्वारेन्टाईनको बारेमा बुझेका छैनन्।’ उनले भने, ‘कि त सिकाएर पठाउनु प¥र्यो, की सरकारले विशेष किसिमको नीति बनाएर संक्रमण भएको ठाउँबाट आएकाहरुलाई क्वारेन्टाईनमै राख्नै पर्ने हुन्छ।’ क्वारेन्टाईन व्यवस्थापन गर्न नसके एक व्यक्तिबाट अर्को गर्दै कोरोनाको संक्रमण बढ्दै जान सक्नेतर्फ सचेत बन्नुपर्ने सुझाव उनको छ।

‘सरकारले एक्सनमा जानुपर्ने देखिन्छ, त्यो गर्न सकेन भने स्थिती नराम्रो हुनसक्छ।’ उनले भने। तर सुदूरपश्चिम प्रदेशमा अहिले सम्म छुट्टै क्वारेन्टाईन स्थापना गरिएको छैन्। प्रदेश सरकारले क्वारेन्टाईनमा राखेर निगरानी गर्न सक्ने स्थिती नरहेको भन्दै सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गर्दै आएको छ। 

 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस