सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना प्रभाव : हेल्थ डेस्कको विकल्प खोज्न आवश्यक

२०७६ चैत्र ७, ०४:१९ जनक विष्ट

सुदूरपश्चिममा कोरोना लक्षित गर्दै स्थापना गरिएका हेल्थ डेस्क अर्थात स्वास्थ्य सहायता कक्षको विकल्प खोज्नुपर्ने आवश्यकता देखिएको छ। प्रदेशका भारतसँग जोडिएका सीमा क्षेत्र र विमानस्थलमा परिक्षणका लागि स्थापना गरिएका हेल्थ डेस्कको विकल्प खोज्न सुझाव दिईएको हो। ‘यदी कोरोनाको किटाणु मानिसको शरिरमा प्रवेश गरिहालेमा तत्कालनै लक्षण देखा नपर्न सक्छन्।’

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेलले भने, ‘मानिसको शरिरमा प्रवेश गरेको १४ दिन सम्म भाईरस जिवितै हुने भएकाले जुनसुकै बेला पनि अकस्मात लक्षण देखिन सक्छन्।’ डाक्टर पौडेलका अनुसार १४ दिन सम्मको अवधीमा जुनसुकै बेला पनि मानिसमा संक्रमणका लक्षण देखिन सक्छन्।

अहिले सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कमा समान्य तापक्रम जाँच्ने काम मात्र भईरहेको छ। तपक्रम परिक्षणका अतिरिक्त कोरोनाको नमूना परिक्षण गर्नुपर्ने आवश्यकता रहेको फिजिसियन डाक्टर पौडेल बताउँछन्। उनले सीमा नाकाबाट प्रवेश गर्नेलाई सकेसम्म क्वारेन्टाईनमा राख्नु उचित हुने सुझाव दिए।

छिमेकी मुलुक भारतमा समेत कोरोनाको संक्रमण फैलिसकेका बेला मजदुरी गरी फर्किनेहरुको माध्यमबाट कोरोना नेपालमा पनि फैलिन सक्ने भन्दै सर्तकता अपनाईएको छ। तर हेल्थ डेस्कमा तापक्रम परिक्षण गरेर मात्र कोरोनाको संक्रमण भए÷नभएको आकलन गर्न नसकिने भन्दै नमूना परिक्षण अनिवार्य गर्नुपर्ने सुझाव चिकित्सकले दिएका हुन्। तर अहिले सम्म सुदूरपश्चिमका सीमा नाकाबाट भएर नेपाल भित्रिरहेकाहरुको समान्य तापक्रम परिक्षण बाहेक क्वारेन्टाईनमा राख्ने काम नभएको देखिएको छ।

कोरोनाको जोखिमबाट बच्न सीमानाकाको आवागमन रोक्नको विकल्प नरहेको पनि स्वास्थ्यकर्मीहरुले बताएका छन्। अर्कोतर्फ अस्पतालमा परिक्षणका लागि आवश्यक पर्ने उपकरणको समेत व्यवस्थापन हुन नसकेका कारण कोरोनाको संक्रमण फैलिएमा समस्या हुनेतर्फ गम्भीर बन्न आग्रह गरिएको छ।

चिकित्सक संघले प्रदेशको सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराउँदै उपचारका लागि आवश्यक पर्ने उपकरणको व्यवस्था गर्न आग्रह गरेको चिकित्सक संघका अध्यक्ष डाक्टर प्रमोद जोशीले बताए। उक्त प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएको उनले बताए। तर सामाजिक विकास मन्त्रालयले भने सीमा नाकाबाट नेपाल फर्किनेहरु सबैलाई क्वारेन्टाईनमा व्यवस्थापन गर्न सम्भव नभएको बताएको छ।

मन्त्रालयले त्यस्ता व्यक्तिलाई सकभर १४ दिन सम्म सेल्फ क्वारेन्टाईमा बस्न अपिल गरेको छ। अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुका लागि आवश्यक पर्ने मास्क लगायतका समाग्री तथा नमूना परिक्षण गर्ने व्यवस्थाका लागि पहल भईरहेको   मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

अहिले नेपालमा काठमाडौँमा मात्रै कोरोना सम्बन्धीका नमूना परिक्षण गर्ने व्यवस्था रहेको छ भने सुदूरपश्चिमबाट समेत शंकास्पद व्यक्तिहरुको नमूना संकलन गरी उतै पठाउने गरिएको छ। तर प्रदेशमा समेत उक्त व्यवस्था मिलाउनुपर्ने सुझाव दिईएको छ भने सीमा नाकामा तत्काल आवागमनमा पूर्ण रुपमा रोक लगाउन आग्रह गरिएको छ।  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस