सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरलाई धनगढीसँग जोड्ने सडक अलपत्र

२०७६ चैत्र ७, १२:२७ रोशन भट्ट

धनगढी : समृद्धिको प्रमुख आधार मध्ये सडक पनि हो। तर कञ्चनपुरको कृष्णपुरका स्थानीय २८ वर्षदेखि समृद्धिको सपना पूरा नभएपछि निराश छन्। जिल्ला सदरमुकामबाट भौगोलिक दृष्टीकोणले उपेक्षामा परेको कृष्णपुर नगरपालिकाका अधिकासं वस्ती मोहना नदीको किनारमा छन्। अधिकांश वडा जिल्ला सदरमुकाम भन्दा पनि प्रदेशको अस्थायी राजधानी धनगढीसँग नजिक छन्। तर उक्त क्षेत्रको सम्बृद्धिसँग जोडिएको धनगढीदेखि मालुवेला जोड्ने सडक अलपत्र परेको स्थानीय लेखराज जोशीले बताए। ‘कञ्चनपुरका लागि सारै दुर्गम मानिने कृष्णपुरमा सडकको आवश्यकता पहिले देखि नै थियो’ उनले भने, ‘२०७३ सालको फागुनमा कालोपत्रेका लागि ठेक्का सम्झौता भएपनि काम निकै सुस्त भईरहेको छ।’

विगतमा कृषि सडकको नाम दिएर साविकको जिल्ला विकास समिति तथा गाउँ विकास समितिले मर्मतको नाममा प्रत्येक वर्ष उपभोक्ता समतिलाई बजेट दिदै आएको स्थानीय भक्तबहादुर खत्रीले बताए। ‘सम्बृद्धिको पहिलो आधार नै सडक हो’ उनले भने, ‘सरकारको उदासिनताका कारण सडक लामो समयदेखि अलपत्र परेको छ, स्थानीयले सास्ती भोग्नु परेको छ।’ पछिल्लो समयमा उक्त सडकलाई कैलाली कञ्चनपुर जोड्ने रणनितिक सडकको रुपमा विकास गर्ने भन्दै कालोपत्रे गर्ने तयारी भएको अर्का स्थानीय उपेन्द्र मल्लले बताए। सडक डिभिजन कार्यालयले २०७३ साल फागुन ११ गते कालोपत्रेको लागि ठेक्का सम्झौता गरेको थियो। २७ महिनाको निर्माण अवधी राखेर ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालयले पुरै निर्माण अवधी सम्म काम गर्न पाएन्।

पछिल्लो समयमा आएर उक्त सडक निर्माणको जिम्मा प्रदेश सरकार मातहतको पुर्वाधार विकास कार्यालय धनगढीले पायो। अहिले फेरी मालुवेला देखि धनगढी चटकपुर जोड्ने सडक कालोपत्रेको जिम्मा पुर्वाधार विकास कार्यालय कञ्चनपुरले पाएको छ। तर निर्माण कार्यले भने तिव्रता लिन नसकेको कृष्णपुर नगरपालिकाको वडा नम्बर ८ का स्थानीय गणेश बहादुर ऐरले बताए। ‘सडक संञ्जालको अभावका कारण १० किलोमिटरको दुरीमा ३० किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता छ’ उनले भने, ‘सडक निर्माणको अवधी सकिदा पनि कालोपत्रे गर्न अझै समय लाग्ने देखिएको छ।’ सडक अलपत्र परेपछि कृष्णपुर नगरपालिकाका किसानहरुले उत्पादन गरेका कृषी उपजले बजार नपाएको स्थानीय धु्रवसिंह रानाले बताए।

‘कृषि उपजलाई वोकेरै बजारसम्म पुगाउनुपर्ने वाध्यता छ’ उनले भने, ‘सडक कालोपत्रे भए धेरै सहज हुन्छ।’ सो क्षेत्रका विद्यार्थीहरुलाई पनि विद्यालय जान निकै समस्या हुने गरेको छ। स्वास्थ सेवा लिनको लागि पनि कृष्णपुरका स्थानीयले धनगढी पुग्नुपर्छ तर सडक नहुँदा समस्या छ। कृष्णपुरदेखि धनगढीको दुरी १० किलोमिटर छ तर सडक व्यवस्थीत नहुँदा कञ्चनपुरकै गुलरिया हुदै अत्तरिया देखि धनगढी पुग्न ३० किलोमिटरको यात्रा गर्नु पर्ने बाध्यता छ। सडक कालोपत्रेको काममा निर्माण व्यवसायी तथा आयोजना कार्यालयले लापरवाही गरेपनि निर्वाचित जनप्रतिनिधि भने मौन बसेको स्थानीय कैलाश बलायरले बताए। ‘निर्माण व्यवसायी संगै नियमन गर्ने निकायको कमजोरीका कारण सडक निर्माणको काम सुस्त भईरहेको छ।’ उनले भने।

२२ किलोमिटर लम्बाई तथा १२ मिटर चौडाईको सडक कालोपत्रे गर्नको लागि १६ करोडमा निर्माण सम्झौता भएको थियो। हाल सम्म सम्झौताको दश करोड भुक्तानी भईसकेको निर्माण कम्पनीका प्रतिनिधि परमानन्द कपाडीले बताए। ‘२२ किलोमिटरको सडकमा १५ किलामिटर सम्म मात्रै बेस विछ्याउने काम सम्सन्न भएको छ’ उनले भने, ‘उक्त सडकलाई संघीय सरकारबाट प्रदेश सरकार मातहत ल्याउने क्रममा भुक्तानी गर्न ढिलाई भएपछि कामले समेत गति नलिएको हो।’ पछिल्लो पटक आउदो बैशाख सम्मको लागि म्याद थप गरिएको छ तर कालोपत्रे काम सुरु हुन सकेको छैन्। यता निर्माण कम्पनीले भने असार सम्म कालोपत्रे सम्पन्न गर्ने दावी गरेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस