सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नेकपा अध्यक्ष नेतृत्वको समूहद्वारा अनेरास्ववियु सभापतिमाथि आक्रमणको प्रयास

२०७६ चैत्र ५, ०५:०१ खबर संवाददाता

बैतडी: बैतडीमा नेकपा अध्यक्ष नेतृत्वको समूहद्वारा अनेरास्ववियु सभापतिमाथि आक्रमणको प्रयास गरिएको आरोप लागेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका केन्द्रको विवादलाई लिएर नेकपा अध्यक्ष सुरेन्द्र पालको समुहले आफुलाई आक्रमण गर्न खोजेको भन्दै अनेरास्ववियु जिल्ला संयोजक गोविन्दसिंह मालले प्रहरी चौकी गोकुलेश्वरमा निवेदन दिएका छन्। 

आफुहरुले नयाँ तोकिएको केन्द्र पङ्सेराको विरोध गरेको भन्दै उक्त समुहले आफुलाई गालीगलौच गरी आक्रमणको प्रयास गरेको उनले बताए।

‘म गोकुलेश्वरको चोकमा बसिरहेको अवस्थामा नेकपा अध्यक्ष सुरेन्द्र पाल, जिल्ला सचिवालय सदस्य लोकेन्द्र राना, वडा नम्बर ६ का अध्यक्ष, शिक्षक धनीराम ओड, नेकपा डिलाशैनी गाउँपालिका सचिव सुर्य नाथ र वडा नम्बर ३ का स्थानीय राम ओडले मलाई आमाचाकरी गरे’ उनले भने, ‘ती मध्ये एकजनाले त मलाई चक्कु समेत देखाएर धम्की दिए।’ उक्त घटनापछि दोषीलाई कारवाहीको माग गर्दै पिडित गोविन्दसिंह मालले प्रहरीमा निवेदन दिएका छन्। 

सोमबार बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को पङ्सेरामा राख्ने निर्णय भएको थियो। गाउँसभाको २ तिहाई बहुमतले उक्त निर्णय पारित गरेको हो।  गाउँसभाबाट २ तिहाई बहुमतले पङ्सेरामा केन्द्र बनाउने निर्णय भएकोमा केही स्थानीयले त्यसको विरोध गरेका छन्।

विगतमा गाउँपालिकाको केन्द्र  वडा नम्बर ७ भानी गाउँमा रहेकोमा त्यसलाई यथावत राख्नुपर्ने भन्दै उनीहरुले विरोध गरेका हुन। 

कमेन्ट लोड गर्नुस