सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले दार्चुलासहितका तीन जिल्लामा विद्यालय भवन बनाउन दश करोड अनुदान दिने

२०७६ चैत्र ३, ०४:५७

दार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज यहाँँस्थित भारतीय राजदूतावास र सम्बद्ध निकायका अधिकारीले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नाका साथै एउटा विद्यालयलाई पहिलो किस्ताको रकम पनि हस्तान्तरण गरिएको छ। 

दार्चुलाको धापस्थित मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च मावि र कपिलवस्तुको  महाराजगञ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवन निर्माणका लागि महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाबीच बेग्लाबेग्लै सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण हुने ती विद्यालय भवनको बोलपत्र आह्वान, ठेक्का लगाउने, अनुगमनलगायत काम  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाले गर्नेछन्। -रासस
 

कमेन्ट लोड गर्नुस