सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगा तिन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन

२०७६ चैत्र ३, ०३:१८ प्रकाश सिंह

बाजुरा: बाजुराको बुढीगंगा नरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा तिनमहिनादेखि सम्पूर्ण आर्थिक कारोबार रोकिएको छ। पुुसको पहिलो साता निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल ठगुन्नाको सरुवा भएपछि नगर प्रशासकीय अधिकृतविहिन बनेको हो। 

अधिकृत नहुँदा सम्पुर्ण विकासे योजनाहरु समेत प्रभावित भएको नगरप्रमुख दिपकबिक्रम शाहले बताए। ‘नयाँ प्रशासकीय अधिकृत नआउँदा योजनाहरुको भुक्तानी हुन सकेका छैनन्’ नगरपालिका लेखापाल पुर्ण जैशीले भने, ‘दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्तासमेत वितरण हुन सकेका छैन।’ फागुनभित्रै सामाजिक सुरक्षाभत्ता वितरण गरिसक्नुपर्नेमा कार्यकारी नआउँदा समस्या भएको उनले बताए। 

प्रशासकीय अधिकृत अहुँदा स्वास्थ्यका सबै गतिविधि प्रभावित भएको स्वास्थ्य संयोजक दिपक शाहले बताए। ‘औषधि खरिद देखि लिएर कर्मचारीले समेत तलब खान पाएका छैनन्, सुत्केरी भत्ता वितरण हुन सकेको छैन्’ उनले भने, ‘तत्काल कुनै महामारी फैलिए व्यवस्थापन गर्न समस्या हुने भएको छ।’

नगरपालिकामा प्रमुख प्रशासकीय नबस्ने समस्या भइरहँदा सम्पूर्ण विकास निर्माणमा समस्या हँुदै आएको वडा नम्बर ८ का अध्यक्ष टेकबहादुर रावलले बताए। त्यस्तै जिल्ला समन्वय समितिमा समेत समन्वय अधिकारी नहूँदा कर्मचारीले तलब खान नपाएको समन्वय सभापति नरेन्द्रकुमार रोकायाले बताए। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस