सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सघन शहरी विकास कार्यक्रमको तेस्रो प्याकेजका सडकमा पनि कमसल काम

२०७६ चैत्र २, ०८:०१ जनक विष्ट

नेपाल सरकारको सघन शहरी विकास कार्यक्रम अन्तरगत २०७३ सालको फागुनमा ठेक्का आह्वानपछि २०७४ असारमा सम्झौता भई लुम्बिनी राजेन्द्र रोयल जेभीले निर्माण गरेको तेस्रो नम्बर प्याकेजमा पनि कमसल काम भएको गुनासो गरिएको छ।

कार्यक्रम अन्तरगत निर्माण भएको धनगढी उपमहानगरपालिका वडा नम्बर १ को कर्बस्थान सडक, सितलमार्ग ज्योती बोर्डिङ स्कुल सडक, कालिका टोल आउजी टोल, बैयाबेहडी सरस्वती नगर र सडक, शिवनगर जाली सडकमा कमसल काम भएको गुनासो गरिएको हो। निर्माणका क्रममा मापदण्ड अनुसार नाली निर्माण र सडक कालोपत्रे नभएपनि पानी निकास नहुने र दुबो उम्रिने समस्या देखिएको वडा नम्बर १ को कर्ब स्थानका देवबहादूर पार्कीले गुनासो गरे।

उनले कालोपत्रे सडकमा दुबो उम्रिन थालेपछि आफू अचम्ममा परेको सुनाए। पार्कीले निर्माण व्यवसायी र कार्यक्रम कार्यान्वयन गरेको शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनीयरको मिलेमतोमा कमसल काम भएको आरोप लगाए। उनले भने, रुख पनि सडकको सीमा भित्र यथावथ छन्,रातीको समयमा दुर्घटनाको जोखिम बढ्दो छ। कर्ब स्थान सडकमा ७ वटा रुख सडकको छेउ र बिचमा तथा झण्डै एक दर्जन पोल नालीको छेउ र बीचमा परेका छन्।

तेस्रो नम्बर प्याकेजमै निर्माण भएको शिवनगर जाली सडक समेत कतै कतै भासिन र भत्कीन थालेको छ भने सडकमा पर्ने झण्डै तीन दर्जन पोल सडकको र नालीमा बीच तथा छेउमा परेका छन्। सडकमा कमसल काम भएपनि नियमनकारी निकाय उदासिन बनेको आरोप स्थानीयको छ। शहरी विकास तथा भवन निर्माण विभाग, सुदूरपश्चिम प्रदेश सरकार लगायतका निकायको उदासिनताले मापदण्ड मिचिएको शिवनगरका स्थानीय गोरखबहादुर थापाले बताए।

उनले निर्माण व्यवसायीले कमसल काम गरेपनि आयोजना कार्यान्वयन इकाईले नियमन नगरेको आरोप लगाए। धनगढीमै रहेका सुदूरपश्चिम प्रदेश सरकार लगायतका निकायले समेत वेवास्ता गरेको थापाको आरोप थियो। नेपाल सरकारको संघिय सहरी विकास कार्यक्रमको तेस्रो नम्बर प्याकेजमै निर्माण भएको बैयाबेहडी सरस्वती नगर सडकमा निर्माण गरिएको नालीमा पानीको निकास नहुने समस्या देखिएको छ।

निर्माण सम्पन्न भएको एक वर्ष नबित्दै भत्कीन थालेपछि मापदण्ड मिचिएको स्थानीयको आशंका छ भने सम्बन्धीत निकायले लापरवाही गर्दा हैरानी खेप्नु परिरहेको छ। सरस्वतीनगरका स्थानीय पुष्पराज जोशीले स्थानीय जनप्रतिनिधीको स्वार्थमा चौडाई घटाएर निर्माण गरिएको सडकमा सुरुदेखि नै बदमासी गरिएको आरोप लगाए।

उनले सडकमा मापदण्ड मिचिएपछि कमसल काम भएको गुनासो गरे। यस्तै सोही प्याकेजमा निर्माण भएका सितलमार्ग ज्योती बोर्डिङ स्कुल सडक, कालिका टोल आउजी टोल सडकमा पनि नालीको पानी निकास नहुने समस्याले नगरबासी आजित भएका छन्। उनीहरुले गर्मी मौसममा नालीमा जमेको पानीले दुर्गन्ध फैलिएको गुनासो गरेका छन् भने सडकमा प्रिमिक्स कारपेट पनि २० मिलीमिटर हुनुपर्नेमा यी सडकहरुमा पनि ५ देखि १२ मिलीमिटर मात्रै रहेको स्थानीय बताउँछन्।  

तर लुम्बिनी राजेन्द्र रोयल जेभीबाट निर्माणको जिम्मा लिएका आशबहादुर गुरुङले भने मापदण्ड अनुसार नै काम गरिएको बताए। शहरी विकास तथा  भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइले पनि सडक कालोपत्रे र निर्माण मापदण्ड अनुसार नै गरिएको दावी गर्दै आएको छ। तर अनुगमन तथा सुपरीवेक्षण गर्ने निकायको उदासिनताले  निर्माण व्यवसायी र कार्यान्वयन गर्ने निकायको लापरवाही बढेको आशंका गरिदै आएको छ।
  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस