सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ महिना पहिले निर्माण सम्पन्न भयो वकिल कार्यालय कैलालीको भवन

२०७६ चैत्र २, ०६:२४ खबर संवाददाता

कैलाली: कैलाली जिल्ला सरकारी वकिल कार्यालयको नयाँ भवन निर्माण अवधिभन्दा ६ महिना पहिले नै निर्माण सम्पन्न भएको छ।  विकास निर्माणका कामहरु समयभन्दा ढिलोगरि मात्रै सम्पन्न भइरहेको अवस्थामा रोयल प्रशंसा जेभीले निर्माण अवधिभन्दा ६ महिना पहिले नै भवन निर्माण सम्पन्न गरेको हो। 

भवन निर्माणको समय २०७७ सालको भदौ ५ गतेसम्म रहेकोमा फागुन मसान्तमै दुई तले नयाँ भवन तयार गरिएको रोयल प्रशंसा जेभीका संञ्चालक दिर्घजोशीले बताए। निर्माण सामाग्रीहरु पर्याप्त मात्रामा पाउन मुस्किल हुँदापनि त्यसको व्यवस्थापन गर्दै समयमै भवन निर्माण गरेको निर्माण व्यवसायी जोशीले बताए। 

कैलाली जिल्ला सरकारी वकिलको कार्यालयको लगानीमा रोयल प्रशंसा जेभीले २०७५ भदौ ५ गते सम्झौता गर्दै दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो। ४ करोड ४२ लाखमा निर्माणको ठेक्का पाएको रोयल जेभीले निर्माण अवधि सकिनुभन्दा ६ महिना पहिले नै भवन निर्माणको काम पुरा गरेको कैलाली जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता विष्णु पौडेलले बताए। 

निर्माण व्यवसायीले द्रुत गतिमा काम गरेका कारण तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएपछि वैशाखको पहिलो सातादेखि नयाँ भवनबाट सेवा दिने तयारी समेत गरिएको जिल्ला न्यायधिवक्ता पौडेलले बताए।  

भवन निर्माणको डिजाइन इस्टिमेट र प्राविधिक सहयोग संघीय कार्यान्वयन इकाइले गरेको थियो। इकाइका इन्जिनियर मोहन अवस्थीले निर्माणको अवधि बाँकि रहँदापनि निर्माण कार्य सम्पन्न भइसकेको बताए। 

उनले अब छिट्टै भवन कैलाली जिल्ला सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरिने बताए।  रोयल प्रशंसा जेभीले यसअघि सघन सहरी विकास कार्यक्रम अन्तर्गतको जडीबुटी प्रशोधन केन्द्रको भवन पनि निर्माण अवधिभन्दा ६ महिना अघि नै सम्पन्न गरेको थियो।

समयभन्दा अगावै काम सम्पन्न गर्ने रोयल प्रशंसा जेभीका सञ्चालक दिर्घ जोशी निर्माण व्यवसायी संघ कैलालीका कोषाध्यक्ष समेत हुन। 

कमेन्ट लोड गर्नुस