सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको संक्रमणबाट बच्न नाका बन्द गर्न सुझाव, सेल्फ क्वारेन्टाईनमा बस्न अपिल

२०७६ चैत्र २, ०७:५६ जनक विष्ट

विश्व स्वास्थ्य संगठनले कोरोना भाईरस (कोभिड–१९) लाई लिएर विश्वव्यापी आपतकाल घोषणा गरिसकेका बेला सुदूरपश्चिममा समेत उच्च सर्तकता अपनाउन सुझाव दिईएको छ। विश्वका विकसीत मुलुककै लागि चुनौतीका रुपमा देखा परेको कोरोनाको संक्रमण फैलिन नदिन सबैलाई सचेत बन्दै सोही अनुसारका प्रबन्ध गर्न आग्रह गरिएको छ।

खासगरी छिमेकी भारत, अझ सुदूरपश्चिमसंग जोडिएको उत्तर प्रदेशमा समेत कोरोनाको संक्रमण फैलिसकेको भन्दै सीमा नाकामा विशेष सर्तकता अपनाउनुपर्ने देखिएको छ। भारत सरकारले नेपालसंग जोडिएका वीरगन्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (बनबासा) र काकडभिट्टा (रानीगन्ज) बाहेकका नाका आईतबारदेखि बन्द गर्ने भनिसकेका बेला प्रदेशमा पनि आशिंक रुपमै भएपनि नाकाको आवागमनमा रोक लगाउनुपर्ने सरोकारवालाको भनाई छ।

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्माले सीमा नाका बन्द गर्नू उत्तम विकल्प भएको सुनाए। उनले पूर्ण सीमा नाका बन्द सकिने अवस्था नरहेतापनि आशिंक रुपमा आवागमनमा रोक लगाए कोरोनाको जोखिमबाट केही हद सम्म जोगिन सकिने बताए। भारतमा अहिले सम्म ८३ जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ भने संक्रमणबाट दुई जनाको मृत्यु भईसकेको छ।

थप संक्रमण फैलिन नदिन नेपाल सहित पश्चिम बंगाल, बङलादेशसंग जोडिएका सीमा नाका आईतबादेखि तत्काल बन्द गर्ने भनिसकेको छ। विकसीत राष्ट्रहरुमै महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण अहिले सम्म नेपालमा नदेखिएपनि सर्तक रहन आग्रह गरिएको छ। तर कैलालीमा भने सीमा नाका बन्द गर्ने विषयमा संघिय सरकारबाट कुनै निर्देशन प्राप्त भईनसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यद्यपी सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा कोरोना लक्षित स्वास्थ्य परिक्षणमा कडाई गरिएको दावी गरिएको छ। तर कोरोनाको संक्रमणबाट बच्न सबैले सचेत बन्नुपर्ने आग्रह स्थानीय प्रशासनले गरेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कोरोनाको जोखिमबाट बच्न सकभर सेल्फ क्वारेन्टाईनमा बस्न अपिल गरे। उनले अतिआवश्यक काम बाहेक भीडभाड भएको स्थानमा नजान, सभा समारोहमा सहभागी नभई सके सम्म सुरक्षीत रुपमा एक्लै बस्न आग्रह गरे।

अहिले नेपाल–भारत बस सेवा पनि सञ्चालनमा छ। बसबाट यात्रु ओसारपसार गर्दा समेत कोरोनाको संक्रमण नेपाल भित्रिन सक्ने सम्भावना हुने भएकाले तत्कालका लागि बस सेवा नै बन्द गर्न सुझाव पनि दिईएको छ। कोरोनाको संक्रमण फैलिन नदिन जो जहाँ छ त्यही सुरक्षीत रुपमा रोक्नु मात्र उत्तम विकल्प हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

यता प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि भारतसंगको पारवाहन तत्कालका लागि बन्द गर्न प्रस्ताव गरेको छ। सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले मन्त्रीस्तरीय बैठकबाट भारतसंगको् पारवाहन सेवा तत्कालका लागि बन्द गर्न सिफारिस गर्ने निर्णय भएको बताए। उक्त प्रस्ताव मन्त्री परिषद्मा लगिने खडकाले बताए।

चिनबाट फैलिएको कोरोना भाईरस छिमेकी भारत सहितका एक सय ४९ देशमा महामारीका रुपमा देखा परेको छ। अहिले चीनले भने कोरोना नियन्त्रणमा आईसकेको बताएको छ। त्यसको प्रमुख कारण प्रविधिका अतिरिक्त सेल्फ क्वारेन्टाईन नै भएको अधिकारीहरुले बताएका छन्।

यता नेपालले भने सीमा नाकामा तत्कालन आवागमन रोक लगाउन भन्दा पनि हाई अलर्टमा राख्दै उच्च सर्तकता अपनाईएको दावी गरिरहेको छ। संघिय सरकारको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले तत्कालका लागि सीमा नाका बन्द गर्न विषयमा कुनै निर्णय नभएको बताए।

यद्यपी भारतसंग सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हाई अर्लटमा रहन निर्देशन दिदै नाकामा स्वास्थ्य परिक्षणमा कडाई गर्न भनिएको अधिकारीले जनाए। तर कोरोनाको संक्रमणबाट बच्न भीडभाडबाट टाढा बस्न, मास्कको अनिवार्य प्रयोग गर्न, प्रत्येक आधा घण्टामा साबुनपानीले हात धुनुपर्ने सुझाव  स्वास्थ्यकर्मीले दिएका छन्।     
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस