सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सिन्दुरे रोगले गहुँ नष्ट

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र १, ०८:४८

सिन्दुरे रोगले गहुँ नष्ट भएपछि बैतडीका किसान चिन्तित बनेका छन्।  जिल्लाका  विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको हो। 

दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा सो रोग देखा परेको कृषि प्राविधिकले बताएका छन्। दोगडाकेदार–२ को घमालीमा गहुँमा सो रोगको प्रकोप देखा परेको कृषि प्राविधिक कविराज भट्टले बताए। उनले भने, “करिब छ हेक्टर जमिनमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको छ।” 

गहुँबाली उक्त रोगले सखाप पारेको किसान वीरबहादुर कार्कीले जानकारी दिए। उनले भने, “खेतमा लगाएको सबै गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको छ।” पाटन नगरपालिका–६ मा गहुँबालीमा त्यही रोगको प्रकोप देखा परेको सो नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए।

गहुँ उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा रोगले गहुँबाली नष्ट भइरहेको उनले बताए। उनले भने, “रोग अवरोध जात नछरेका कारण गहुँबालीमा सो रोगको प्रकोप देखा परेको हो, ढुसीका कारण पनि गहुँबालीमा यो रोग देखा पर्ने गरेको छ।” पाटनमा पनि छ हेक्टर बढी जमिनमा लगाएको गहुँबालीमा उक्त रोगको प्रकोप देखा परेको जनाइएको छ। 

गहुँबालीमा रोगको प्रकोप देखा परेकाले यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। यो वर्ष लगातारको वर्षाले पनि गहुँबालीमा विभिन्न रोग देखा परेको उनले बताए। बैतडीमा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिन्छ जसमध्ये १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको छ। रासस
 

कमेन्ट लोड गर्नुस