सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ड्राइभिङ तालिममा युवाहरुको आकर्षण

२०७६ फाल्गुन २८, ०५:१५

डडेल्धुराका गाउँगाउँमा ग्रामीण सडकको पहुँच बढेसँगै युवाहरुको ड्राइभिङ तालिममा आकर्षण बढ्दै गएको छ। जिल्ला सदरमुकामको उग्रतारा टे«निङ सेन्टरमा चालू आर्थिक वर्षको सात महिनामा ४०० युवाले सवारी साधन चलाउने तालिम लिएका छन्।

लाइसेन्स प्राप्त गरी स्वरोजगार पेशाको सपना बोकेका युवा ड्राइभिङ तालिममा आकर्षित मात्र भएका छैनन, गाउँगाउँमा सडक पुगेपछि उत्साहित पनि छन्। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रविन्दु डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भए पनि लाइसेन्स वितरण गर्ने काम नहुँदा सीप सिकेका युवा जनशक्ति पलायन भइरहेको भन्दै प्रदेश सरकारलाई अविलम्ब कार्यान्वयन गर्न आफ्ना नगर क्षेत्रका दलित युवालाई तालिम दिइरहेको शिखर नगरपालिका डोटीका नगरप्रमुख सीताराम जोशीले बताए।

उग्रतारा ड्राइभिङ सेन्टरका सञ्चालक तेजबहादुर ऐरले पहाडी जिल्लालाई लक्षित गरेर झण्डै एक करोडभन्दा बढी निजी लगानीमा निर्माण गरेको ट्रायल सेन्टरबाट प्रमाणपत्र लिने युवा प्रशिक्षार्थीले सवारी चालक अनुमतिपत्रका लागि भने तराईको जिल्ला धनगढी जानुपर्ने बाध्यता छ  भने। 

आजसम्म सो सेन्टरबाट गन्यापधुरा गाउँपालिका १७, आलिताल गाउँपालिका १६, अमरगढी नगरपालिका–९ बाट आठ, गैरसरकारी संस्था एनएनएसडब्लुएबाट पाँच, जलाधार कार्यक्रमबाट चार गरी ३५० ले तालिम लिइसकेको ऐरले बताए। करिब १०० जनाले धनगढी कैलालीबाट सवारी चालक अनुमतिसमेत लिइसकेको बताइएको छ। 

करिब पाँच वर्षअघि डडेल्धुरामा खुलेको यातायात व्यवस्था सेवा कार्यालयले नवीकरणको काम सेवाग्राहीलाई दिइरहेको छ। चालक अनुमतिपत्रको सुविधा सो कार्यालयलाई सुदूरपश्चिम प्रदेशको सम्बन्धित मन्त्रालयले अख्तियारी नदिँदा र दुई वर्षदेखि प्रक्रियामा रहेपछि तालिम लिने युवा पनि निरुत्साहित भइरहेको अमरगढी नगरपालिका–८ अध्यक्ष नरबहादुर साँकीले बताए। 

सो टे«निङ सेन्टरबाट डडेल्धुरा तथा डोटीका विभिन्न स्थानीय तहले युवालक्षित कार्यक्रमअन्तर्गत सयभन्दा बढी युवायुवतीलाई स्वरोजगारमूलक एकमहिने र दुईमहिने ड्राइभिङ तालिम दिएको छ। तालिममा दक्ष सवारी चालकका लागि ट्राफिक ज्ञान र आधारभूत मोटर वर्कसपसम्बन्धी विषय पनि समावेश छ। रासस
 

कमेन्ट लोड गर्नुस