सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका प्रिन्सको छलाङ, विश्व वरीयताको सातौँ स्थानमा

२०७६ फाल्गुन २८, ११:३१ खबर संवाददाता

धनगढी :  नेपाली ब्याटमिन्टनमा युवा स्टारको छवी बनाएका प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा छलाङ मार्दै सातौं स्थानमा उक्लेका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) बुधबार सार्वजनिक गरेको विश्व जुनियर वरीयतामा दार्चुलाका प्रिन्स तीन स्थान सुधार गर्दै सातौं स्थानमा पुगेका हुन्। यसअघि उनी १० औं स्थानमा थिए।

प्रिन्सले भर्खरै युरोपमा दुई वटा जुनियर प्रतियोगिता खेलेका थिए। नेदरल्याण्ड्समा भएको डच जुनियर र जर्मनीमा भएको जर्मन जुनियरमा उनी अन्तिम १६ सम्म पुगेका थिए। प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट हो। युवा अवस्थामै उनले राष्ट्रिय र अन्तराष्ट्रिय ब्याडमिन्टनमा प्रभाव जमाउँदै विश्व वरीयतामा फड्को मार्दै आइरहेका छन्।

सुदूरपश्चिम स्पोर्टस अवार्ड कार्यक्रममा उनी वर्षका उत्कृष्ट खेलाडी भएका थिए। उनले दुबई जुनियर ईन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए भने उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी बनेका थिए।

प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा पनि दाहालले स्वर्ण पदक जितेका थिए।  साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक जितेका उनले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक जितेका थिए। 

जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य जितेका दाहाल आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू–१७ मा स्वर्ण जित्न सफल भएका थिए। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले कास्य पदक जितेका थिए।
 

कमेन्ट लोड गर्नुस