नेविसंघ डडेल्धुरका नेता भण्डारीको अन्त्येष्टि, मृत्युको कारण खुलेन
धनगढी : नेपाल विद्यार्थी संघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको आज अन्त्येष्टि गरिएको छ। उनको सेतीघाटमा अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरमा बुवा करविरसिंह भण्डारीले दागवती दिएका छन्। भण्डारीप्रति श्रद्धान्जली व्यक्त गर्न सयौँ जिल्लावासी आर्यघाट पुगेका थिए।
यसअघि मंगलबार बिहान पदमको शवलाई डडेल्धुरास्थित कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। सोही स्थानमा प्रदेशसभा सदस्य गोविन्दराज बोहरालगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने नुहाउन बाथरूम छिरेका भण्डारीको मृत्युको कारण खुल्न नसकेको बताए। ‘ग्यास गिजर चलाएर नुहाउन बाथरूम छिरेका भण्डारी लामो समयसम्म बाहिर ननिस्केपछि परिवारले अस्पताल पुगाएका थिए। पोस्टमार्टम रिपोर्ट आइसकेको छैन। के कारणले मृत्यु भयो भन्ने खुल्न बाँकी छ।’ उनले भने।