सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा काठचोरी गर्ने सुपरभाइजर पक्राउ

। फोटो स्रोत ।
२०७६ फाल्गुन २७, ११:४२ खबर संवाददाता

डडेल्धुरामा काठ चोरी गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १२ जोगबुडास्थित घाटगद्दीमा राखेको सालको गोलिया चोरी गर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रहमदेव बस्ने चक्रबहादुर साउलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। साउंद राजेन्द्र निर्माण सेवा कम्पनीका सुपरभाइजर हुन्।

परशुराम धाम सव डिभिजन वन कार्यालय जोगबुडाको टोलीले काठ चोरेर लुकाएको अवस्थामा फेला पारेपछि साउदलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। परशुराम नगरपालिका वडा नम्बर १ को सिद्धनाथ सामुदायिक वन अचलसैनले आर्थिक वर्ष २०७४÷०७५ मा सामुदायिक वन क्षेत्रबाट संकलन गरी लालढुङ्गा बजार नजिक घाटगद्दी गरेकोमा सो स्थानबाट गोलीया चोरी भएको भनि पुस ६ गते र फागुन २३ गतेको निवेदनको विशेष सूचनाका आधारमा गस्ती गर्ने क्रममा लुकाइ राखेको अवस्थामा काठ बरामद गरिएको हो। 

साल जातको गोलिया थान एक १३ दशमलव ३५ क्युफिट जोगबुढा कटालको निमार्णाधीन रंगुन पुलनजिक कामदार बस्नका लागि बनाइएका टहरामा लुकाइ राखेको अवस्थामा बरामद गरेको परशुराम धाम सव डिभिजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले बताए।

राजेन्द्र निर्माण सेवा कम्पनीले निर्माण गर्दै गरेको निमार्णाधीन पुलको सुपरभाइजर पदमा कार्यरत साउदले टहरा निमार्ण गरि काठ लुकाइ राखेका अवस्थामा फेला परेपछि साउदले यसअघि पनि काठ चोरेको हुनसक्ने आशंका गरिएको छ। उक्त घाटगद्दी गरिएको क्षेत्रबाट हालसम्म ९१ क्युफिट काठ चोरी भएको सामुदायिक वनले जनाएको छ। 

साउदलाई सामुदायिक वन उपभोक्ता समितिको विधान एवं वन ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने परशुराम धाम सव डिभिजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत केसीले बताए।
 

कमेन्ट लोड गर्नुस