धनगढीको जुगेडा चार दिनदेखि विद्युत विहिन, प्राधिकरणले सुनवाई गरेन
धनगढीको जुगेडा चार दिनदेखि विद्युत विहिन भएको गुनासो गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को सी गाउँमा फागुन २२ गते रातीदेखि अवरुद्ध भएको विद्युत सेवा अझै सुचारु हुन नसकेको हो। स्थानीय खडक सिहले २२ गते राती अवरुद्ध भएको लाईन मर्मत सम्भारका लागि नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा मर्मत सम्भारका लागि पटक पटक आग्रह गरिएको भएपनि वेवास्ता गरिदिएको आरोप लगाए।
‘२२ गतदेखि यहाँका झण्डै डेढ सय परिवार बिजुली नभएर अन्धकारमा बस्न बाध्य भएका छौँ।’ उनले भने, ‘विद्युत प्राधिकरणलाई लाईन मर्मत सम्भारका लागि सयौँ पटक आग्रह गरिसक्यौँ, आउँछु भन्छन् अहिले सम्म पुगेका छैनन्।’ विद्युत नभएपछि गाउँ नै अन्धकारमय भएको स्थानीयले बताएका छन्। अहिले मोवाईल चार्ज गर्नकै लागि पनि छिमेकी गाउँ धाउनुपर्ने बाध्यता रहेको छ। यता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले भने जुगेडाको सी गाउँमा विद्युत अवरुद्ध नभएको दावी गरेको छ।
प्राधिकरण वितरण केन्द्र प्रमुख सुरेन्द्र चौधरीले गुनासो गर्ने व्यक्तिको घरमा समस्या हुनसक्ने भन्दै गाउँमै विद्युत नभएको भन्ने कुरामा सत्यता नरहेको जिकिर गरे। शनिबार सम्म हावाहुरीले अवरुद्ध भएका अन्य क्षेत्रको लाईन मर्मत सम्भार गरिएको बताउँदै जुगेडामा के भएको रहेछ भन्ने कुरा बुझ्ने उनले बताए। तर धनगढीमा विद्युत लाईन बिग्रिएपछि लामो समय सम्म मर्मत सम्भार नगर्ने परिपाटी भने अझै कायमै रहेको हो।