कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ: राज्यमन्त्री रावत
डडेल्धुरा: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेकोे बताएका छन्।
स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका क्रममा डडेल्धुरा आइपुगेका राज्यमन्त्री रावतले बिहिबार पत्रकार भेटघाट कार्यक्रममा कोभिड–१९ को सङ्क्रमणबाट नेपाल सुरक्षित रहेको र रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले पूर्वतयारी गरिरहेको जानकारी दिए।
भारतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि डडेल्धुराको पुराना छोटी भन्सार नाकामा कोरोना जाँच कक्ष स्थापना नभएकाले नेपालबाट भारत जाने आउने पर्शुराम नगरपालिका र भागेश्वर गाउँपालिकाको छोटी भन्सारबाट नेपालमा फैलन सक्ला कि भन्ने पत्रकारले गरेको प्रश्नमा राज्यमन्त्री रावतले सो सम्बन्धमा अध्ययन गरी प्रदेश सरकारलाई निर्देशन दिइने बताए। -रासस