सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका प्रिन्स विश्व वरीयताको शीर्ष–१० मा

२०७६ फाल्गुन २०, ०६:४४ खबर संवाददाता

सुदूरपश्चिमका प्रिन्स दाहाल विश्व वरीयताको १० औं स्थानमा उक्लिएका छन्। ब्याडमिन्टनका यूवा स्टार उनी विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा एकस्थान सुधार गर्दै टप–१० मा पुगेका हुन्।

प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो। ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष–१० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन्। प्रिन्स नेपाली ब्याडमिन्टनका युवा स्टार हुन्। युवा अवस्थामै उनले राष्ट्रिय र अन्तराष्ट्रिय ब्याडमिन्टनमा प्रभाव जमाउँदै विश्व वरीयतामा फड्को मार्दै आइरहेका छन्।

उनी यसअघि सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी समेत घोषित भएका छन्। सुदूरपश्चिम स्पोर्टस अवार्ड कार्यक्रममा उनीलाई वर्षका उत्कृष्ट खेलाडी घोषणा गरिएको थियो।   उनले दुबई जुनियर ईन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए भने उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी बनेका थिए।

प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा पनि दाहालले स्वर्ण पदक जितेका थिए।  साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक जितेका उनले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक जितेका थिए।

जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य जितेका दाहाल आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू–१७ मा स्वर्ण जित्न सफल भएका थिए। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले कास्य पदक जितेका थिए।

प्रिन्स हाल जर्मन जुनियर इन्टरनेसनल सिरिजका लागि जर्मनीका रहेका छन् ।

 

कमेन्ट लोड गर्नुस