सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बार्षिक ३६ करोडको लागूऔषध भित्रिदै, ३५ सय प्रयोगकर्ता

२०७६ फाल्गुन १९, ०६:४४ कमल सावद

धनगढी: सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा वार्षिक ३६ करोडको लागू औषध भित्रिने गरेको कैलाली प्रहरीको तथ्याङ्कले देखाएको छ।

प्रयोगकर्ताहरुले १२ सयदेखि २ हजारसम्म लागूऔषधको प्रति डोजमा खर्च गर्ने गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा तीन हजार ५ सय भन्दाबढि लागूऔषधका प्रयोगकर्ता रहेकाछन्। प्रत्येक वर्ष ती प्रयोगकर्ताको संख्यामा वृद्धि भइरहेको प्रहरी कार्यालयले जनाएको छ। 

सोमबार गृह मन्त्रालयको लागू औषध शाखाले धनगढीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो। कार्यक्रममा खुल्ला सीमानाका कारण कैलालीमा लागूऔषधका प्रयोगकर्ता बढीरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।  

सीमावर्ती भारतीय बजारहरुमा सहज रुपमा लागूऔषध पाइने भएकाले नियन्त्रणका लागि चुनौती रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले बताए। ‘कैलालीका बढीजसो प्रयोगकर्ताहरुले भारतमा गएर लागूऔषध प्रयोग गर्छन र ल्याएर आउँछन’ उनले भने ‘यो रोटेसन चलिरन्छ, जसका कारण ती प्रयोगकर्तालाई समात्न गाह्रो छ।’

कार्यक्रममा प्रस्ततु भएको प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२/०७३ मा २३, २०७३/०७४ मा ३६, २०७४/०७५ मा ७१, २०७५/०७६ मा ८७ र चालु आर्थिक वर्षको हालसम्म ६९ वटा लागूऔषधका मुद्दा कैलाली प्रहरीमा दर्ता भएका छन्। 

त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा एक सय १८ जना, २०७५/०७६ मा एक सय २७ र  चालु आर्थिक वर्षमा एक सय २९ लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।  ती प्रयोगकर्ता मध्ये चालु आर्थिक वर्षमा दुई जनाको मुत्यु भएको जनाइएको छ।  

तथ्याङ्क अनुसार लागूऔषध प्रयोगकर्तामा युवाहरुको संख्या बढि रहेको छ। जसमध्ये २० वर्ष मुनिका ३० प्रतिशत, २० देखि ३५ वर्ष उमेर समुहका ४० प्रतिशत, ३५ देखि ४५ वर्ष उमेर समुहका २० प्रतिशत र ४५ वर्षभन्दा माथीका १० प्रतिशत लागूऔषधका प्रयोगकर्ता रहेका छन्। 

लागूऔषध प्रयोगकर्तामा युवाहरुको ठुला संख्या रहेपनि प्रदेश र स्थानीय सरकारले नियन्त्रणका लागि कुनै योजना ल्याउन सकेका छैनन्। लागूपदार्थ कारोबारीको नियन्त्रणमा प्रहरी पनि चुकेको देखिन्छ। 

लागूऔषधका प्रयोगकर्ता बढ्दै गएको भन्दै धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले चिन्ता व्यक्त गरेका छन। ‘हरेक चोकचोकमा लागु"पदार्थका सेवनकर्ता छन’ उनले भने, ‘हामी १३ वटै स्थानीय तहहरु यसप्रति गम्भीर भएका छौ।’ सबै स्थानीय तहसँग मिलेर लागूपदार्थ दुव्र्यसनी विरुद्ध लागी रहेको उनले दाबी गरे। 

कैलालीमा सात लागूऔषध पुर्नस्थापना केन्द्रहरु छन्। तर लागूऔषध प्रयोगकर्ताको संख्यामा प्रत्येक वर्ष वृद्धि हुँदै गएकाले अब प्रदेश स्तरीय पुनःस्थापना केन्द्रको खाँचो सुदूरपश्चिममा देखिएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस