सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली अस्पतालमा चार वर्षदेखि थन्किएको आईसियु सुदूरपश्चिम सरकारको उत्कृष्ट काम

महाकाली अस्पतालमा चार वर्षदेखि थन्किएका आईसियुका उपकरण
महाकाली अस्पतालमा चार वर्षदेखि थन्किएका आईसियुका उपकरण
२०७६ फाल्गुन १६, १०:२५ जनक विष्ट

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेश सरकारले दुई वर्षको अवधीमा हासिल गरेका महत्वपूर्ण उपलब्धीमा कञ्चनपुरको महाकाली अस्पतालमा आईसियु सञ्चालन गरिएको भनेर उल्लेख गरेको छ। प्रदेश सरकार गठन हुनुपूर्व २०७२ सालमै महाकाली अस्पतालले खरिद गरेका आईसियुका उपकरण चार वर्षदेखि प्रयोग बिहिन रहेका बेला सरकारले भने सेवा सञ्चालमा आईसकेको भन्दै दुई वर्षे महत्वपूर्ण उपलब्धीमा राखेको हो।

तर महाकाली अस्पतालका सूचना अधिकारी नारदप्रसाद भट्टले आईसियु सेवा सञ्चालनमा आउन नसकेको पुष्टि गरे।  उनले सेवा सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति नै व्यवस्थापन गर्न नसकिदा आईसियु उपकरण चारवर्षदेखि थन्कीएको स्वीकार गरे।

‘आईसियु सेवाका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा अस्पताल जुटिरहेको छ।’उनले भने। ‘त्यसैका लागि स्टाफ नर्सहरुलाई तालिममा पठाउने तयारी गरेका छौँ त्यसपछि मात्र सेवा सञ्चालनमा ल्याउँछौँ।’

महाकाली अस्पतालले सघन उपचार कक्ष आईसियु सेवा सञ्चालन गर्ने भन्दै २०७२ सालमा उपकरण खरिद गरेको थियो। तर चार वर्ष सम्म उपकरण समेत जडान नभएका बेला सुदूरपश्चिम सरकारले भने महत्वपूर्ण उपलब्धी भन्दै सेवा सञ्चालनमा आएको झुठो विवरण सार्वजनिक गरेको हो। तर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भने सामाजिक विकास मन्त्रालयबाट विवरण मागिएकाले थप कुरा उसैलाई थाहा हुने भन्दै पन्छीएको छ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सूचना अधिकारी जगदिश प्रसाद जोशीले सामाजिक विकास मन्त्रालयले पठाएको विवरणका आधारमा प्रगतीमा राखिएको दावी गरे। उनले बाँकी कुरा उत्तै बुझ्न आग्रह गरे। तर सामाजिक विकास मन्त्रालयले पनि उक्त विषयमा अनभिज्ञता प्रकट गरेको छ।

मन्त्रालयले महाकाली अस्पतालमा सेवा सुचारु नभएको कुरा स्वीकार गरेपनि प्रगतीमा कसरी उल्लेख भयो भन्ने कुरा अध्ययन गरेर मात्रै भन्न सकिने जनाएको छ। सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले प्रतिवेदनमा कसरी उल्लेख भयो भन्ने विषयमा अध्ययन गर्ने बताए।  वषौँदेखि कञ्चनपुरबासी आईसियु सेवा पाउने आशामा बसेका बेला सरकार भने कागजमा सेवा सुचारु गरिससकेको झुठो विवरण प्रस्तुत गरेको हो।

अस्पतालमा आईसियु सञ्चालनमा नआउदा कञ्चनपुर सहित महाकाली अञ्चलबासीले आईसियु सेवाका लागि सीमावर्ती भारतीय बजार र धनगढी, नेपालगञ्ज लगायतका अस्पताल धाउनुपर्ने बाध्यता रहेका बेला सरकार भने झुठो विवरणमै रमाईरहेको आरोप लागेको छ।

यता अस्पतालले भने आईसियु सेवा सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि नेपाल मेडिसिटी हस्पिटल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सहकार्य भईरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज जोशीले बताए।

‘आईसियु सेवा सञ्चालनका लागि आवश्यक पर्ने केही चिकित्सक आईपुगेपनि थप विशेषज्ञ चिकित्सक चाहिने भएकाले व्यवस्थापनमा लागिरहेछौँ।’ उनले भने, ‘जनशक्ति व्यवस्थापन भए आउँदो बैशाखदेखि सेवा सञ्चालनमा ल्याउँछौँ।’ विगतमा पनि जनशक्ति अभावकै कारण महाकाली अस्पतालले आईसियु सञ्चालन गर्न नसकिएको दावी गर्दै आएको थियो।

त्यसै कारण आईसियु उपकरण थन्काउन बाध्य भएको जिकिर गरिदै आएको छ। अस्पताल प्रदेश सरकार मातहत आएपछि सेवा सुधारको अपेक्षा गरिएको थियो तर सुदूरपश्चिम सरकार भने सञ्चालन नै नभएको सेवालाई महत्वपूर्ण उपलब्धीमा राखिएपछि आलोचना भईरहेको छ। 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस