सुदूर नेपाललाई विश्वसँग जोड्दै

थुनामा नबसी एक लाख धरौटीमा छुटे धनगढीका व्यवसायी दुस्यन्त बस्नेत

२०७६ फाल्गुन १५, ०७:४० खबर संवाददाता

धनगढी : सरकारी छाप र दस्तखत किर्ते गरि करोडौं राजश्व ठग्ने धनगढीका औषधी ब्यवसायी दुस्यन्त बस्नेतलाई एक लाख १० हजार धरौटीमा छोडिएको छ। जिल्ला अदालत कैलालीले आज उनलाई उक्त रकम धरौटी बुझाएर छोड्न आदेश दिएकोमा उनी रकम बुझाएर छुटेका हुन्। माघ २८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका बस्नेत एक दिन समेत प्रहरी थुनामा नबसी छुटेका हुन्। 

प्रहरीमा उपस्थित भएकै दिन अस्पतालमा भर्ना भएका उनी एक दिन थुनामा नबसी छुटेका हुन्। नक्कली करचुक्ताको प्रमाणपत्र बनाएर करोडौंको औषधीको टेन्डर हात पारेका बस्नेत विरुद्ध सरकारी छाप दस्तखत किर्तेमा मुद्धा दर्ता भएको थियो।

अमित मेडिसिन, ड्रग सेन्टर र डिबी मेडिसिन नामका उनका तीन वटा कम्पनीले सुदूरपश्चिमका ठुला ठुला औषधीका ठेक्का हात पार्दै आएको थियो। सरकारलाई कर नतिरेर, सरकारी छाप, कर अधिकृतको नक्कली हस्ताक्षर गरेका बस्नेतलाई भीआईभी जस्तै सुरक्षा दिईएको थियो। माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेपछि उनी १० मिनेट पनि प्रहरीमा बसेनन्।

उनले, आफु विरामी भएको बताएपछि, उनलाई प्रहरीले सेती प्रादेशीक अस्पताल पुगाएको थियो। १० वर्ष देखि सेती प्रादेशीक अस्पतालमा औषधीको आपुर्तीको ठेक्का हात पार्दै आएका उनलाई, सेतीका डाक्टरले धनगढीकै नीजि अस्पतालमा पठाए पनि उनी सिपि अस्पतालमा बस्दै आएका थिए। 

बस्नेतले आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म पाएका हरेक औषधी आपुर्तीका ठेक्कामा नक्कली करचुक्ता प्रमाणपत्र पेश गरेका थिए। उनले, तीन वर्षको अवधीमा गेटा आँखा अस्पतालको झण्डै ६ करोड बढी र सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयको गरी डेढ करोड बढीको औषधी आपुर्ती ठेक्कामा नक्कली प्रमाणपत्र पेश गरेका थिए।

उनलाई प्रहरीले ७ बर्ष कैद सजायको माग दावी गर्दै अदालतमा पेश गरेपनि उनी धरौटीमा छुटेका हुन्। समाचार स्रोतका अनुसार उनलाई धरौटीमा रिहा गर्नका लागि ठूलो आर्थिक चलखेल भएको छ। 

कमेन्ट लोड गर्नुस