सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड गोल्डकपः साविक विजेता पुलिसलाई हराउँदै एपिएफ सेमिफाइनलमा

२०७६ फाल्गुन १५, ०६:३६ खबर संवाददाता

धनगढी: साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै विभागीय टीम नेपाल एपिएफ क्लब नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

धनगढी रंगशालामा बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसलाई टाईब्रेकरमा हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। पहिलो चरणमा वाई पाएर क्वाटरफाईनल पुगेको नेपाल पुलिस प्रतियोगिताको चौथो संस्करणमा भने एपिएफसँग टाईव्रेकरमा ४–३ ले पराजित हुँदै बाहिरिएको छ। 

निर्धारित समयमा दुवै टीमले गोल रहित बराबरी खेलेपछि टाईब्रेकरवाट निर्णय लिइदा त्यसमा एपिएफ सफल भएको हो। टाईव्रेकरमा एपीएफका सुदिप शिख्राकार, आशिष लामा, प्रविन स्याङतान र दिनेश राजवंशीले गोल गरे। 

एपिएफएका नवीन लामाको प्रहारलाई भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाए।  पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे। कप्तान भरत शाहको प्रहार पोलमा लागेर गोल हुन सकेन् भने अजित भण्डारीको प्रहारलाई एपिएफका गोलरक्षक रोमन रसाइलीले बचाए। 

खेल सकिन केही मिनेट मात्रै बाकि रहँदा एपिएफले राजु नगरकोटीको सट्टा रोमन रसाइली र पुलिसले सत्रुधन चौधरीको सट्टा रोशन खड्कालाई मैदान छिराएको थियो। एपिएफ खप्तड गोल्डकपको सेमिफाइनल पुग्नुका साथै उसले सहिद स्मारक लिगमा पुलिससँगको हारको बदला पनि लिएको छ। लिगमा एपिएफ १–० ले पराजित भएको थियो। खेलको म्यान अफ द म्याच एपिएफका आशिष लामा चुनिए। उनले नगद १० हजार सहित ट्रफी पाए। 

खेलपछि प्रतिक्रिया दिदैं एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले पाएका मौका सदुपयोग गर्न नसक्दा खेलमा गोल हुन नसकेको भन्दै टाईव्रेकरमा सफल भएकोे बताए। ‘खेल फिफ्टी फिफ्टीको थियो। हामीले गोल गर्ने धेरै मौका मिस गर्यौ तर किपरमा विश्वास थियो। त्यहि अनुसार किपर चेञ्ज गरेपछि जित्यौ’ उनले भने, ‘चेन्ज गरेको किपर रोमनको बल जजमेन्ट राम्रो थियो। मैले जुनियर प्रतियोगितमा टीमलाई टाईव्रेकरमा जिताएको पनि देखेको थिए।

त्यहीअनुसार नतिजा आएको छ। प्रशिक्षक श्रेष्ठले अव सेमिफाईनलमा आयोजक टीमसँग खेल्दा घरेलु दर्शक र घरेलु मैदानले फरक पार्ने भन्दै सुदूरपश्चिम–११ सँगको खेल पनि प्रतिस्पर्धात्कम हुने बताए। 

नेपाल पुलिस क्लबका म्यानेजर संजीव जोशीले लगातार टीमले प्रतियोगिता खेल्दा आरा मगर्नका लागि समय नपाउँदा जित्नलाई समस्या भएको भन्दै भाग्यले समेत साथ नदिएको बताए। ‘अन्य प्रतियोगितामा तीन म्याच लगातार खेलेर खेल हुनुभन्दा केही घण्टा अगाडी मात्रै धनगढी पुग्यौं। आरामको लागि समय भएन्। तर पनि खेलाडीहरुले राम्रै खेलेका हुन्’ उनले भने, ‘टप म्याचमा गोल हुने बल पनि हुन सकेन्। पेनाल्टीमा पनि ब्याडलक भयो।’ 

अब एपिएफले फाइनल प्रवेशको लागि शनिवार आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको चौथो क्वाटरफाइनलमा शुक्रवार हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देही प्रतिस्पर्धा गर्नेछन्। 

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ। 

प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक/एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिइरहेको छ। 

नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। प्रतियोगिताको प्रायोजकमा ग्लोबल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ। 

यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको छ। खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि प्रतियोगीता आयोजना गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस