सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड गोल्डकपः रुस्लान थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश

२०७६ फाल्गुन १४, ०६:२० खबर संवाददाता

धनगढी : रुस्लान थ्रीस्टार नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाइनलमा जित हात पार्दै अन्तिम चारमा पुगेको हो। 

पहिलो चरणमा वाई पाएर क्वाटरफाइनल पुगेको थ्रीस्टारले सिमराको नव जनजागृती क्लबलाई २–० ले हराएको हो।  ललितपुरे क्लब थ्री स्टारको जितमा संजोग राई र आशिष राईले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो। 

खेलको ८०औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेड गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। त्यसपछि खेलको ८१औं मिनेटमा आशिषले गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे। आशिषले पनि निशान खड्काकै पासलाई सदुपयोग गरे। खेलको म्यान अफ दि म्याच थ्री स्टारका कप्तान विक्रम लामा चुनिए। उनले नगद १० हजारसहित ट्रफी पाए।

खेलपछि प्रतिक्रिया दिदैं थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिमले सोचेभन्दा राम्रो खेलेका कारण सुरुमा गोल हुन गाहे भएको भएपनि पछि गोल हुँदा जित हात पारेको बताए। ‘हामीले जति सोचेका थियौं त्यो भन्दा पनि राम्रो खेल्यो। त्यही भएर हामीलाई स्कोर गर्न गाहे भयो’ उनले भने ‘लामो यात्रा गरेर आएका कारण पनि समस्या भयो। अबको खेलमा अझ राम्रो खेल्नेछौं। 

त्यस्तै नव जनजागृती क्लबका प्रशिक्षक सोनु क्षेत्री भने ए डिभिजन टीमलाई कडा टक्कर दिन सकेकोमा सन्तुष्ट भएका छन्। ‘अघिल्लो खेलमा ४–० को जितले मनोबल उच्च भएको थियो। टप कम्फीटिसन म्याचमा पछि तालमेल मिलेन र गोल गर्न सकिएन्’ उनले भने, ‘अन्तिम १० मिनेटमा सम्हालिन सकेनौं। पहिलो हाफ जस्तो राम्रो खेल दोस्रो हाफमा खेल्न सकेनौ। 

अब थ्री स्टारले फाइनल प्रवेशको लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्ने छन्। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाइरहेका छन् भने एक/एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन्। 

वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक वर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ।  नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई बैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ। 

यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको छ। खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशमा हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै यो प्रतियोगीता आयोजना गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस