राष्ट्रपतिको स्वागतमा बैतडी र दार्चुलामा सार्वजनिक विदा
राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा बैतडी र दार्चुलाका केही स्थानीय तहमा सार्वजनिक विदा दिईएको छ। बैतडीको पाटन नगरपालिका र दार्चुलाको मालिकार्जुन नगरपालिकाले बीहिबार सार्वजनिक विदा दिएको हो।
पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले नगर कार्यपालिकाको बैठकबाट राष्ट्रपति भण्डारीको भ्रमणमा बीहिबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए।
मालीकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिह धामीले पनि राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए। आजदेखि सुदूरपश्चिमको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले पहाडी जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा पनि सहभागी हुने कार्यसूची छ।
राष्ट्रपती भण्डारी आज मध्यान्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्धघाटन र आज नै २ बजे शिवनगर खानेपानी आयोजनाको निरिक्षण गर्ने कार्यक्रम रहेको छ।
यस्तै फागुन १५ गते विहान १० बजे दार्चुलास्थित मालिकार्जुनको दर्शन, ११ बजे मालिकार्जुन माविको निरिक्षण, २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, ३ बजे बैतडीमै प्राविधिक शिक्षालयको भवन उद्धघाटन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।
यस्तै १६ गते विहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम छ। राष्ट्रपति १७ गते फर्किने कार्यक्रम रहेको छ।