सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा हलिया पुर्नस्थापनाको साढे २ करोड अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

२०७६ फाल्गुन १३, ०५:२४ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरामा मुक्त हलिया पुर्नस्थापनाका लागि आएका झण्डै साढे २ करोड बजेट स्थानीय तहका जनप्रतिनिधीको मिलेमतोमा दुरुपयोग गरिएको आरोप लागेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिकामा मुक्त हलिया पुर्नस्थापनाका लागि गत वर्ष आएको दुई करोड ४४ लाख ३५ हजार बजेटमाथि अनियमिता गरिएको आरोप लगाइएको हो। 

मुक्त हलियाको पुनस्र्थापना कार्यक्रम संञ्चालनका लागि नेपाल सरकारले गाउँपालिकामा पठाएको बजेट अन्य शिर्षकमा खर्च गरिएको भन्दै अनियमितता भएको दावीसहित स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन्। 

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लसहित तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरी दिइएको हो। 

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी समेत बोधार्थ दिएर हुलाकमार्फत गाउँपालिकाका अध्यक्ष, तत्कालीन कार्यकारी अधिकृत करुणाकर पन्त र लेखापाल दिलबहादुर ऐर विरुद्ध उजुरी परेको हो। 

गाउँपालिकाको वडा नम्बर ३ र ४ का करिब ८४ मुक्त हलिया परिवारको पुनस्र्थापनाका लागि गत वर्ष २ करोड ४४ लाख ३५ हजारमाथि अनियमितता भएको दावी गर्दै कारवाहीको मागसहित हुलाकमार्फत उजुरी दिइएको हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले अनियमितता भएको भन्दै अख्तियारमा पठाइएको उजुरीको बोधार्थ आफूलाई पनि दिइएको जानकारी दिए।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले हुलाकमार्फत उजुरी हालिएको सुनेपनि कार्यालयमा नपुगेको बताए। 

कमेन्ट लोड गर्नुस