सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपार्दशिताको पराकाष्टा: मेयर नै अध्यक्ष रहेको सहकारीमा ५ वर्षदेखि साधारणसभा भएन

२०७६ फाल्गुन १२, ०१:४७ प्रकाश सिंह

बाजुरा : बाजुरामा रहेको सुन्दर बडिमालिका उपभोक्ता सहकारी संस्थाको पाँच वर्षदेखि साधारण सभा भएको छैन। बडिमालिका नगरपालिकाको वडा नम्बर ७, ८ र ९ लाई लक्षित गरेर सदरमुकाम मार्तडीमा संचालित सहकारीको अध्यक्ष नगरप्रमुख पदम बडुवाल रहेका छन्। तर उक्त सहकारी संस्था अहिले अस्तव्यस्त बनेको छ।  

संस्था दर्ता गर्दा प्रारम्भिक रुपमा छलफल गरेर अध्यक्षमा पदमबहादुर बडुवाल, सचिवमा विपिन बिष्ट, कोषाध्यक्षमा अमृता सिंह लगायतकका पदाधिकारीको नेतृत्वमा समिति चयन भएको थियो। तर २०७२ सालमा दर्ता भएको उक्त संस्थाको हालसम्म एउटा पनि साधारण सभा भएको छैन। 

दर्तापश्चात ५ वर्षसम्म साधारणसभा नगरी विनाहिसाब किताब एकलौटी तरिकाले संस्था संचालन गरिँदै आएको संस्थाका सेयर सदस्य बीरबहादुर थापाले बताए। ‘संस्थामा करिब डेढ करोडको कारोबार भएको छ, २ सय ६० भन्दा बढी शेयर सदस्यहरुको ४ लाख ५० हजारको सेयर कित्ता रहेको छ’ उनले भने ‘तर सचिव बिपिन बिष्टले कुनै समन्वयविना एकलौटी रुपमा सहकारी चलाइरहेका छन।’ सचिव विपिन बिष्टले अनियमितता गरेकाले  हिसाब देखाउन नसकेको उनले आरोप लगाए। 

सचिवले ऋण लगानी गर्दा ऋण समितिलाई समेत जानकारी नदिएर मनोमानी तरिकाले आफुखुशी लगानी गर्ने गरेको अर्का वडा नम्बर ८ का अध्यक्ष तथा शेयर सदस्य प्रकाश रावलले बताए। 

संस्थाले कर्मचारी राख्दा संचालक समितिको निर्णयविना आफुखुसी राख्ने तथा नियुक्ति पत्र समेत नदिने गरेको बचतकर्ताहरु बताउँछन्। त्यति मात्रै होइन संस्थाका शेयर सदस्यले आफ्नो सेयर बचत रकम माग्दा रकम नभएको भन्दै भोलीपर्सी आउनु भनेर आलटाल गर्ने गरेको शेयर सदस्य रावलले बताए।  

यसबारे संस्थाका सचिव विपिन बिष्टलाई बुझ्दा लामो समयसम्म सहकारी संस्थाको साधारणसभा नभएको उनी स्विकार्छन। ‘सहकारी दर्ता गर्दा तत्काल पदमबहादुर बडुवाललाई अध्यक्षको रुपमा प्रारम्भिक भेलाले निर्णय गरेको थियो’ उनले भने ‘पछि पदमबहादुर बडुवाल बडिमालिका नगरपालिकाको मेयरमा निर्वाचित भए। पटकपटक साधारण सभाको लागी छलफल गर्दा कुनै समय मेयरको समय नहुने कुनै बेला आफु र अन्य संचालक समितिका पदाधिकारीको समय नमिल्दा साधारण सभा हुन सकेन।’

उता सहकारीका अध्यक्ष रहेका नगरप्रमुख पदमबहादुर बडुवाल यही फागुनभित्रै साधारणसभा गरिसक्ने बताउँछन। सहकारीको हिसाबकिताब आफुले जुनबेला पनि सार्वजनिक गर्न सक्ने उनले बताए। ‘अन्य आरोप कसैका व्यक्तिगत इच्छा पुरा नहुँदा लगाइका हुन। पैसा कसैको निजी नभएर सबै शेयर सदस्यको हो, त्यो त सबै सफ्टवेरमा इन्ट्रि हुन्छ नी। संस्थाको नियम अनुसार कसैले ऋण मागेमा नियमअनुसार लगानी र ऋण असुली गर्नु पर्ने हुन्छ’ उनले भने। आफुले सहकारी नियमावली अनुसार काम गरेको तर कसैलाई त्यो चित्त नबुझेपछि नानाथरी आरोप लगाउने गरेको उनले बताए। 

आफु मेयरमा निर्वाचित भइसकेपछि आफ्नो सबै जिम्मा कोषाध्यक्ष अमृता सिंहलाई दिइसकेको उनले बताए।  तर कोषाध्यक्ष अमृता सिँह भने आफुलाई मौखिक रुपमा मात्र जिम्मा दिएको बताउँछिन। ‘मलाई आधिकारीक जिम्मा दिइएको छैन त्यसैले सम्पुर्ण काम अध्यक्षले नै हेर्ने गरेका छन्’ उनले भनीन। 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस