सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अजयमेरुमा दिगो विकास लक्ष्य स्थानीयकरण कार्यक्रम सुरु

२०७६ फाल्गुन ६, ०१:५७

डडेल्धुरा: सुदूरपश्चिममै पहिलो पटक डडेल्धुराको अजयमेरु गाउँपालिकामा दिगो विकास लक्ष्य स्थानीयकरण कार्यक्रम लागु भएको छ। राष्ट्रिय योजना आयोगको समन्वयमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले देश भरिका ११ वटा स्थानीयतहमा उक्त कार्यक्रम पाइलोटिङको रुपमा लागु गर्न लागेको छ। 

युएनडीपीको आर्थिक सहयोगमा संचालित उक्त कार्यक्रमले स्थानीय तहमा संचालनमा रहेका र अगामी दिनमा संचालन हुने योजना, आयोजना, परियोजना र विकासका गतिविधिमा दिगो विकास लक्ष्यहरुलाई समेट्ने उदेश्य राखेकोे दिगो विकाश लक्ष्य स्रोत व्यक्ति गंगा पनेरुले जानकारी दिए। 

उक्त कार्यक्रमले विशेषगरी स्थानीयतहमा वार्षिक योजना, आवधिक योजना, मध्यकालिन सोचका योजना र मध्यकालिन खर्च संरचनालाई व्यवस्थित र दिगो गर्नका लागी प्राविधिक सहयोग गर्ने उनले बताए। जसका लागी अजयमेरुमा २ जना स्रोत व्यक्ति परिचालन गरिएको पनेरुले बताए।  

लामो समयसम्म टिक्ने खालका योजना र आयोजना निर्माणका साथै त्यसका सोच, लक्ष्य, निति, कार्यनिती, अनुगमन मुल्याङ्कन र नतिजा खाकासहितको विकासको लक्ष्य समेट्ने कार्यक्रमको रणनिती रहेको स्रोत व्यक्ति गंगा पनेरुले जानकारी दिए।

उक्त कार्यक्रम मार्फत अजयमेरु गाउँपालिकामा कार्यक्रबारे अभिमुखीकरण सम्पन्न गरिसकेको छ। अभिमुखिकरण कार्यक्रममा गाउँपालिकालका अध्यक्ष उमेशप्रसाद भट््टले अब योजना  निमार्ण गर्दा दिगो विकास लक्ष्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। उनले आगामी निति, कार्यक्रम, बजेट, आवधिक योजना लगायतका योजनामा दिगो विकास लक्ष्यलाई विशेष ध्यानमा राख्न समेत सबै वडा अध्यक्ष र विषय क्षेत्रगत शाखा प्रमुखहरुलाई निर्देशन समेत दिएका छन्। 

दिगो विकास लक्ष्यले विभिन्न योजनाका साथै मध्यकालिन खर्च संरचनालाई स्थानीयतहमा अवलम्बन गर्दा वित्तिय अनुशासन कायम हुने, भावि योजनालाई चाहिने रकमको पुर्वानुमान गर्न सजिलो हुने, भावि बजेट विनियोजन गर्न, प्राथमिकताको आधारमा विकास गर्न, विषयगत बजेट बाडफाडमा सजिलो गर्न आयोजना बैंक बनाउन र सार्वजनिक खर्चलाई प्रभावकारी बनाई दिगो विकास गर्दै देशको विकासलाई अगाडी बढाउन महत्वपुर्ण योगदान पुग्ने बताइएको छ।  

नेपालले सन २०३० सम्म दिगो विकासका १७ वटा लक्ष्य, १ सय ६९ वटा परिमाणात्मक लक्ष्य र ४ सय ७९ सूचक हासिल गर्नका लागी अन्तराष्ट्रिय प्रतिबद्धता गरेको छ। 

 

कमेन्ट लोड गर्नुस