सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम खप्तड गोल्डकपको ट्रफी सार्वजनिक

२०७६ फाल्गुन ५, ०४:२८ खबर संवाददाता

धनगढी : नेपाल आईस चौथो सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करणको ट्रफी सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ९ गतेदेखि आयोजना हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो।

फागुन ९ गतेदेखि फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। हालसम्म ८० प्रतिशत तयारी सकिएको अध्यक्ष हमालले बताए। पत्रकार सम्मेलन मार्फत प्रतियोगितामा सहभागी टीमहरुको बारेमा र खेल तालिकाको वारेमा समेत जानकारी दिईएको छ।

यसअघि नै सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेलमा फागनु ९ गते बाग्मती क्लब र कञ्चनजंघा फुटबल क्लब ईन्डियाबीच प्रतिस्पर्धा हुनेछ। जसको विजेताले सेमिफाईनल प्रवेशको लागि नेपाल आईस सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्ने छ। जुन खेल फागुन १३ मा हुनेछ। फागुन १० मा नेपाल एपिएफ काठमाडौं र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुने छ।

विजेताले फागुन १५ मा सेमिफाइनल प्रवेशको लागि नेपाल पुलिस क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ। फागुन ११ मा नव जनजागृती क्लब सिमरा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। जसको विजेताले सेमिफाईनल प्रवेशको लागि फागुन १४ मा रुस्लान थ्री स्टार क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ। फागुन १२ मा गोर्खा ब्वाइज रुपन्देही र कोबा फुटबल क्लब क्यामरुन बीच प्रतिस्पर्धा हुनेछ।

जसको विजेताले सेमिफाइनल प्रवेशको लागि सिएमजी संकटा काठमाडौंसँग फागुन १६ मा प्रतिस्पर्धा गर्ने छ। पहिलो सेमिफाइनल फागुन १७ र दोस्रो १८ गते हुनेछ । फाइनल फागुन २० मा हुनेछ। चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेको प्रतियोगितामा दुई विदेशी सहित १२ टिम सहभागी हुनेछन्।

प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।

यस वर्ष खेल अवलोकन गर्न आउने दर्शकका लागी टिकट दर क्रमशः १००, १५० र  ३०० गरी तीन प्रकारको तोकिएको छ। त्यस्तै खेल अवधीभर प्रत्येक दिन १ जना भाग्यशाली दर्शकलाई १३ हजार ५ सय पर्ने रियल मी स्मार्टफोन उपहार प्रदान गरिनेछ।

१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी (डिस) होमले गर्ने छ।

गत संस्करणमा रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो। प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो चार वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए।

यसपालीको गोल्डकपको नाम प्रतियोगिताको नाम चौथो नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप—२०७६ रहनेछ। प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ।

त्यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ रहेको छ। सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस