सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा दैनिक विद्युत् कटौती, व्यवसायी मारमा

२०७६ फाल्गुन ५, ०३:२६

डोटी : दुई हप्तादेखि दिपायललगायतका ठाउँमा दिनहुँ विद्युत् कटौती हुँदा स्थानीय नागरिक तथा व्यवसायीलाई सास्ती हुन थालेको छ। अघोषित विद्युत् कटौतीका कारण सिलगढी, दिपायल, गोपघाट, बानीडुग्रीसैन, मौवा, मेल्लेख, सायल, मुडभारा, कालागाढ, कपल्लेकी, रानागाउँ, वासुदेवीलगायतका ठाउँका व्यवसायी तथा स्थानीयवासी बढी मर्कामा पर्ने गरेका छन । 

नेपाल विद्युत् प्राधिकरण दिपायल वितरण केन्द्रले दैनिक ५/५ मिनेटको फरकमा घण्टौँसम्म विद्युत् कटौती गर्ने गरेका कारण यहाँका स्थानीयलाई निकै सास्ती भएको कमला अफसेट प्रेस दिपायल पिपल्लाका सञ्चालक सर्व्जित देउवाले बताए।  
जिल्लामा लामो समयदेखि विद्युत् आपूर्तिमा अनियमितता हुँदासमेत सम्बन्धित निकायले समस्या समाधान गर्नतर्फ कुनै पहल नगरेको स्थानीयको आरोप छ।

यहाँका सेवाग्राहीले विद्युत् कटौतीको बारेमा फोन गरेर विद्युत् कार्यालयमा जानकारी लिन खोज्दा प्रत्येक पटक सिस्टम गएको भन्ने बाहेक अन्य कुरा कर्मचारीले नबताउने गरेका स्थानीयवासीले गुनासो गरेका छन्।

विद्युत् कटौतीको मारमा सबैभन्दा धेरै विद्यार्थी र इलेक्ट्रोनिक व्यवसायी परेका छन्।  विद्युत् प्राधिकरण दिपायल शाखाले अनियमित ढङ्गबाट दैनिक विद्युत् कटौती गर्दा सर्वसाधारण निकै मारमा परेका हुन्। विद्युत् प्राधिकरणले एकै पटकमा तीन÷चार घण्टा विद्युत् कटौती गर्ने गरेको छ। 

अनियमित विद्युत् कटौतीका कारण अन्य होटेल व्यवसायीहरु पनि मारमा परेका छन्। विद्युत् प्राधिकरणको हेल्चक्र्याइका कारण लाखौँका सर सामानमा क्षति पुगेको शिखर नगरपालिकास्थित गोपघाटका इलेक्ट्रोनिक व्यापारी लक्षमण खत्रीले गुनासो गरे।-विमल विष्ट/रासस

कमेन्ट लोड गर्नुस