सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला पुगेर रक्षामन्त्री पोखरेलले भने – 'न एक इन्च भूमी लिन्छौ, न छोड्छौ'

२०७६ फाल्गुन ४, ०६:४० नरेन्द्र कार्की

दार्चुला : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमी अरुलाई एक इन्च पनि नछोडिने बताएका छन्। दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन।

पछिल्लो समय दार्चुलाको कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेपछि नेपाल सरकारले कुटनीति पहल गरेको भन्दै उनले भने, “हाम्रो भूमी न अरुलाई एक ईन्च छोड्छौ, न अरुको एक इन्च जमिन माग्छौ।” “हाम्रो मातृभूमीको जमिन एकरथी छोडिन्न्, हामीसबैलाई सुन्ने गरी भन्न चाहन्छौ,” उनले भने।

“हाम्रो नेपालको भूमी मिच्न कदापी दिदैनौ, उपप्रधान तथा रक्षामन्त्री पोखरेलले भन्नुभयो, भूमी अतिक्रमण सह्य हुँदैन्, सहदैनौ।” भारतले मिचेको क्षेत्रको व्यास गाउँपालिकाको कालापानी क्षेत्र भ्रमणमा निस्कन लागेको भन्दै उनले भने, ‘सरकारले हाम्रो मिचिएको भूमीको छिनोफानो गर्छ।’

केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले पहिलो पटक भारतसँग सीमाको विषयमा कुटनीति नोट लेखेको भन्दै उनले भने ‘विवादित भूमी फिर्ता गराएरै छाड्छौ।’ नेपालको भूमि कालापानी लिपुलेक र लिम्पियाधुराको विषयमा नेपालका सबै राजनीतिक दलहरुको साझा एजेण्डा रहेको भन्दै यो नेपालको भूमी एक रथी पनि नछोडिने उनले बताए। 

रक्षामन्त्री पोखरेलले निर्माणाधीन दार्चुला तिंकर सडकलाई नेपाली सेनामार्फत सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए। २०६४।०६५ सालदेखि निर्माण शुरु भएको दार्चुला हुँदै व्यासको तिब्बत छोड्ने यो सडकलाई नेपाली सेनाले निर्माण गर्न लागेको जानकारी गराए।

दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्ना लगायतका नेताहरुको निरन्तर पहल कदमीको कारण निर्माणाधीन दार्चुला तिंकर सडकलाई नेपाली सेनामार्फत निर्माण गरिन लागेको रक्षामन्त्री पोखरेलले बताए। ११ वर्षअघिबाट निर्माण शुरु भएको दार्चुला तिंकर सडक खण्ड अन्तर्गत खलंगादेखि माथि ४० किलोमिटर क्षेत्रफल मात्रै ट्याक खुलेको  छ। महाकाली करिडोर अन्तर्गत राखिएको यो सडकको कुल लम्बाई ४२५ किलोमिटर छ। 

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्मको विभिन्न खण्डमा कुल १२५ किलोमिटर सडकको ट्याक खुलेको दार्चुल तिंकर सडक योजनाले जनाएको छ। दार्चुला तिंकर सडकको व्यास गाउँपालिका सुनसेरा भन्दा माथिल्लो तिंकर भञ्जाङसम्मको झण्डै ८७ किलोमिटर सडकको ट्याक खोल्न नेपाली सेनालाई दिने तयारी थालिएको हो।

रक्षामन्त्री ईश्वर पोखरेलले दार्चुलाको व्यास कालापानी क्षेत्रमा सशस्त्र प्रहरी राख्ने विषयमा समेत भूगोलको निरीक्षण गरिने बताए। अहिले नेपाल भारत र चीनसँग सीमा जोडिएको सबै क्षेत्रमा सुरक्षाकर्मी थप्ने काम भइरहेको र दार्चुलाको तिंकरमा पनि छिट्टै सुरक्षाकर्मीको पोष्ट स्थापना हुने बताए।  

सीमाको रक्षाको विषयमा वर्तमान सरकार स्पष्ट रहेको भन्दै सरकारले राष्ट्को स्वभिमान गुम्न नदिने बताए। उनले फरक प्रसंगमा दार्चुलाको संघीय सरकारमा प्रतिनिधित्व छिट्टै हुने बताए। ‘विगतदेखि दार्चुलालेली जनताले जिताएर पठाएका नेतालाई हामी छिट्टै सरकारमा प्रतिनिधित्व गराउँछौ’ उनले भने ‘यो मेरो बचन हो।’ नेपाली सेनाका हेलिकोप्टरमार्फत पौने ३ बजे सदरमुकाम खलंगा पुगेका मन्त्री पोखरेले दार्चुला महोत्सवको उद्घाटन गरेपछि जिल्लास्थित कार्यालय प्रमुखसँग छलफलमा सहभागि भएका छन्।

यस्तै उनले आइतबार नै दार्चुलास्थित नेपाली सेना दुर्गादल गुल्मको निरीक्षण गर्नेछन्। सोमबार बिहान एक घण्टा जिल्लास्थित कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको पार्टी अध्यक्ष गणेश खत्रीले बताए। यस्तै उनले बिहान व्यास गाउँपालिकाको छांगरु तिंकर तथा कालापानी क्षेत्रको निरीक्षण गर्नेछन्। 

दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा जिल्लाका मार्मा, मालिकार्जुन, नौगाड, दुहुँ, व्यास र महाकाली नगरपालिकाको विभिन्न कला संस्कृति प्रस्तुत गरिएको छ। यस्तै नेपालकै पृथक बसोबास रहेको व्यासी सौकाको संस्कृति देखाइएको थियो।

जिल्लामा रहेका जडिबुडी, पर्यटन, कला संस्कृति तथा यहाँ उत्पादन भएका कृषिजन्य वस्तुको व्यापार तथा प्रचारप्रसारको लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्नाले बताए। फागुन ४ गतेबाट शुरु भएको महोत्सव फागुन १३ गतेसम्म सञ्चालन हुने छ।
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस