धनगढीबाट छुटेको बस डडेल्धुरामा दुर्घटनाः घाइते ६ मध्ये ५ जना रिफर(नामसहित)
धनगढी: डडेल्धुरामा शनिबार दिउँसो बस र हाइस एकआपसमा ठोक्किँदा घाइते भएका ६ मध्ये पाँच जनालाई जिल्लाबाहिर रिफर गरिएको छ। डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार सम्भव नभएपछि जिल्लाबाहिर रिफर गरिएको अस्पतालले जनाएको छ।
घाइते हुने मध्ये हाइस चालक डोटीको जोरायल गाउँपालिका–२ का २३ वर्षीय विमलबहादुर थापा, दिपायल सिलगढी नगरपालिका ७ का ५० वर्षीय रतनबहादुर विष्ट, पूर्वीचौकी गाउँपालिका–३ का ३१ वर्षीय विरेन्द्र उपाध्याय, डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का ३६ वर्षीय विक्रम विक र कैलाली फूलबारीकी ४० वर्षीया चन्द्र पोखरेललाई जिल्ला बाहीर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
डोटीको शिखर नगरपालिका ८ का ३४ वर्षीया अमृता घिमिरे अवस्था भने सामान्य रहेकोले उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए। उनका अनुसार हाइस चालक थापाको टाउकोमा चोट लागेको छ। अन्य घाईतेको हात, खुट्टा र टाउकोमा चोट लागेको छ।
कैलालीदेखि अछामतर्फ गइरहेको ना६ख १९८० नम्बरको बस र दिपायलबाट धनगढी आउँदै गरेको से१ख १७३६ नम्बरको हाइस शनिबार जिल्लाको गन्यापधुरा गाउँपालिका १ साहुखर्कमा एक आपसमा ठोक्किएका थिए।