सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा बदमासी

२०७६ फाल्गुन २, ११:५१ रोशन भट्ट

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वडा नम्बर ८ मा स्थानीय पूर्वाधर विकास साझेदारी कार्यक्रम अन्तरगत सडक ग्राबेलका लागि १० लाख बजेट विनियोजन गरिएको छ। प्रतिनिधिसभा सदस्य नरबहादुर धामीको उक्त कार्यक्रमबाट नगरपालिकाले सडक ग्राबेलको लागि वडा नम्बर ८ लाई १० लाख बजेट दिईएको थियो।

वडा कार्यालयले भने सडक ग्राबेलको योजना कार्यान्वयन गर्न आवश्यक पर्ने उपभोक्ता समिति गठन गर्नको लागि गत माघ २१ गते एक सूचना जारी गर्दै उपभोक्ता समिति गठन कार्यक्रममा २६ गते उपस्थीत भईदिन आग्रह गरेको छ। तर २ दिन अगाडी नै स्थानीय काशी सिंह कुँवरको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन भईसकेको स्थानीय यज्ञबहादुर खत्रीले बताए।

‘पानी पिच र ग्राबेल गर्ने जो १० लाखको योजना थियो, त्यसमा समिति गठन गर्दा स्थानीय जनप्रतिनिधिको मिलेमतोमा वैधानिक भएन’ उनले भने ‘यसले गर्दा नागरिकमा जे पनि गरे हुन्छ भन्ने सूचना जान्छ।’ आर्थीक वर्ष २०७६/७७ मा कार्यान्वयन हुने गरी वडा नम्बर ८ को चौगाजा देखि रतासी गौडी जोड्ने सडक ग्राबेल गर्न स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गर्नुपर्ने भएपनि वडा कार्यालयले भने आफ्नो निकटका व्यक्तिलाई समावेश हुनेगरी नगरपालिकाले नै बनाएको कार्याविधि विपरित समिति गठन गरेको आरोप स्यानीय गणेश बहादुर ऐरको छ।

‘उपभोक्ता समिति वैधानीक तरिकाले गठन भएन’ उनले भने। ‘यस क्षेत्रका नागरिकलाई जनप्रतिनिधीले अपमान गरेको हो’ नगरपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्याविधी २०७४ अनुसार सूचना जारी गरेको ७ दिन भित्र लाभग्राहीको सहभागितामा उपभोक्ता समिति गठन गर्नुपर्ने हुन्छ।

तर आम भेला बोलाएको दुई दिन अगाडी नै समिति गठन गरिएको स्थानीय उपेन्द्र मल्लले बताए। स्थानीय तहले कार्यान्वयन गर्ने योजनाहरुमा राजनितिक हस्तक्षेपका कारण निकटका व्यक्तिलाई उपभोक्ता समितिको अध्यक्ष बनाई आर्थिक अनियमितता गर्न खोजेको आरोप लाग्ने गरेको छ। तर योजना संञ्चालन गरिरहेका स्थानीय तहहरुले भने कानूनी प्रक्रिया अनुसार नै उपभोक्ता समिति गठन गरेको दावी गर्दै आएका छन्। सबै नागरिकलाई उपस्थीत गराएर नै समिति गठन गरिएको दावी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अमर सिंह वडायकको छ।

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममा बजेट दिने प्रतिनिधीसभा सदस्य भने यस विषयमा वेखवर छन्। प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले आफूलाई यस विषय केही जानकारी नहँुदा अब बुझ्ने बताए। कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका अन्य जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम कार्यान्वयनमा मनोमानी भईरहेको छ। जनप्रतिनिधीहरुले आफ्नो स्वार्थ पुरा गर्नको लागि निकटका व्यक्ति समावेस हुने गरि उपभोता समिति गठन गरिरहेका छन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस