सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले सडकका योजना ठेक्का मार्फत मात्रै कार्यान्वन गर्ने

२०७६ माघ २९, ०७:३२ कमल सावद

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षदेखि सडक निर्माणका योजना ठेक्का मार्फत मात्रै कार्यान्वन गर्ने भएको छ। उपभोक्ता समितिहरुसंग सडक निर्माणका लागि उपकरण नहुने भन्द प्रदेश सरकारले ठेक्काबाट मात्र योजना कार्यान्वयन गर्ने दावी गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण प्रयोग गर्नुपर्ने योजनाहरु उपभोक्ता समितिलाई कार्यान्वयनका लागि नदिन सुझाव दिएको थियो। सोही सुझाव अनुसार सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरिएको पूर्वाधार कार्यालय कैलालीका प्रमुख श्याम खड्काले बताए।

उनले चालु आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि अधिकासं योजनामा ठेक्का भईरहेको बताए। नेपाल सरकारलाई अख्तियारले दिएको सुझाव २०७६ मंसिर १५ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेको थियो। सो पत्र अनुसार मुख्यमन्त्री कार्यालयले मंसिर २५ गते मन्त्रालयहरुलाई सुझाव कार्यान्वयनका लागि पत्रचार गरेको थियो।

भौतिक पूर्वाधार विकास मन्त्रालयले मंसिर २६ गते मातहतका कार्यालयहरुलाई सुझाव कार्यान्वनका लागि पत्रचार गरेको थियो। सोही सुझाव अनुसार योजना सम्झौताको काममा पूर्वाधार कार्यालयहरु छन्। पूर्वाधार विकास कार्यालय अछामका प्रमुख झंक थापाले पनि सडक निर्माणका योजनामा ठेक्का नै गर्ने तयारी भईरहेको बताए।

उनले मन्त्रालयको निर्देशन अनुसार ठेक्का प्रक्रिया मार्फत योजना कार्यान्वयनको तयारी भईरहेको दिनेश खवरलाई जानकारी दिए। उपभोक्ता समितिसंग भौतिक पूर्वाधार निर्माणका लागि उपकरण नहुने, आर्थिक हिनामिना हुने, भौतिक संरचना तथा सडक निर्माण पछि कुनै जिम्मेवारी नहुने भएकाले उपभोक्ता समितिलाई उपकरण प्रयोग हुने योजना नदिन प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले पत्रचार गरेको हो।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर शाहीले भने, ‘सडक ग्रावेलका योजनाहरु पनि ठेक्का सम्झौता मार्फत कार्यान्वयन गर्ने तयारी भईरहेको छ।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस