सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर कप फुटबल प्रतियोगिताः पुर्नवास निलो र धनगढी सेमिफाइनलमा

२०७६ माघ २८, ०६:०९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको पुनर्वासमा भइरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार दुई खेल भएका छन्। पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को मंगलवारका खेलमा विजयी हुँदै आयोजक पुर्नवास नगरपालिकाको निलो टीम र धनगढी उपमहानगरपालिका सेमिफाइनलमा पुगेका छन्।

पुर्नवास नगरपालिका वडा नम्बर ३ स्थित ६५ बिगाको खेल मैदानमा मंगलवार भएको पहिलो खेलमा पुर्नवास नगरपालिका निलोले भिमदत्त नगरपालिकालाई २–० ले हरायो। पहिलो हाफ गोलरहित बराबरी भएपनि आयोजक टीमले दोस्रो हाफमा दुई गोल गर्दै अन्तिम चारमा स्थान बनाएको हो। 

पुर्नवासका लागि सुदिप घर्तीले दोस्रो हाफको  २१औं मिनेट र सुदिप तामाङले दोस्रो हाफको २९ औं मिनेटमा गोल गरे। खेलको म्यान अफ द म्याच पुर्नवास निलोका सुदिप तामाङ भए। उनले नगद दुई हजार प्राप्त गरे। उनी यसअघिको खेलमा पनि म्यान अफ द म्याच भएका थिए। 

मंगलवारको दोस्रो खेलमा आयोजक पुर्नवास नगरपालिका रातोलाई धनगढी उपमहानगरपालिकाले ३–२ ले किनारा लगायो। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ८ औं मिनेटमा किरण बोहोराले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिए।

त्यसको ६ मिनेटपछि धनगढीका कप्तान कुवेर सिंहको फ्रिकिक प्रहार गोलमा परिणत भएपछि धनगढी उपमहानगरपालिकाले अग्रता दोब्बर पार्यो। पहिलो हाफकै २५औं मिनेटमा पुर्नवास रातोका लागि कप्तान फिलिप तामाङले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुराए। दोस्रो हाफको २१औं मिनेटमा पुर्नवास रातोले पेनाल्टी एरियाभित्र ह्यान्ड गरेपछि धनगढीले पेनाल्टी पायो। 

त्यसलाई धनगढीका अमन चौधरीले गोलमा परिणत गरे। दोस्रो हाफको ३२औं मिनेटमा पुर्नवास निलोका फिलिप तामाङले व्यक्तीगत दोस्रो गोल गरे। त्यसपछि कुनै पनि टीमबाट गोल हुन सकेन्। खेलमा पुर्नवास रातोका फिलिप तामाङ म्या अफ द म्याच भए। उनले नगद दुई हजार पाए। धनगढी उपमहानगरपालिकाले यसअघि क्वाटरफाईनलमा बाई पाएको थियाे।

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बुधवार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा वेलौरी नगरपालिका र मधुवन नगरपालिका बर्दिया तथा दोस्रो खेलमा गोदावरी नगरपालिका र महाकाली नगरपालिका बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका मिडिया संयोजक भरत वोहोराले जानकारी दिए।

प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छन्। सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भईरहेको छ। 

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा सुरु भएको मेयर कप फुटबल नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिताका संयोजक खडक विक्रम थापाले जानकारी दिए। 

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिए। 

त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेष्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ।

कमेन्ट लोड गर्नुस