सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लाजका कारण फुटबलर पेले घरबाट निस्कन सक्दैनन’

२०७६ माघ २८, ०७:२७ खबर संवाददाता

ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनको छोराले जानकारी दिएका छन्। उनी कसैको सहाराबिना हिँड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन्।

तीन पटक विश्व कप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ। पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल र्पुयाइएको थियो। ७९ वर्षका पेललाई केही समयका लागि कम्मरमा समस्या देखिएको थियो अब उनलाई हिँड्न फ्रेम चाहिन्छ। उनलाई पछिल्लो पटक सार्वजनिक स्थानमा ह्विलचेयरमा मात्रै देखिएको छ। ‘उनलाई असाध्यै अप्ठेरो लाग्छ, एकान्त मनपर्छ,’ उनका छोरा इडिन्होले टिभी ग्लोबललाई जानकारी दिए।

पेलेले आफ्नो २१ वर्षको करियरमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८ गोल हानेर विश्व रेकर्ड राखेका छन्। ब्राजिलका लागि ९१  खेलमा उनले ७७ गोल हानेका छन्। पछिल्लो समय उनको स्वास्थ्यबारे सबैले चिन्ता व्यक्त गरिरहेका छन्। सन् २०१५ मा उनको प्रोस्टेट शल्यक्रिया भएको थियो। त्यसको ६ महिनापछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो।

‘एकपटक सोच्नुहोस् त, उनी राजा हुन, उनको व्यक्तित्व सधैं उत्कृष्ट रहँदै आएको छ र अहिले उनी राम्रोसँग हिँड्न पनि सक्दैनन,’ इडिन्होले बताए। ‘उनलाई लाज लाग्छ, उनलाई घरबाट बाहिर निस्कनै मन लाग्दैन, कसैले देखोस् भन्ने चाहँदैनन् र घरबाहिर हुने काममा सरिक हुनै चाहँदैनन,’ उनका छोराले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस