सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर कप फुटबल प्रतियोगिता :आयोजक पुर्नवास रातो र बेलौरी क्वाटरफाईनलमा

२०७६ माघ २७, ०५:४१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको पुनर्वासमा भईरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल भएका छन्। पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को सोमबारको खेलमा विजयी हुँदै आयोजक पुर्नवास नगरपालिकाको रातो टीम र बेलौरी नगरपालिका क्वाटरफाईनलमा पुगेका छन्। 

पुर्नवास नगरपालिका वडा नम्बर ३ स्थित ६५ विगाहको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा वेलौरी नगरपालिकाले कैलारी गाउँपालिकालाई ३–० ले हरायो। वेलौरीको जितमा दिपेन्द्र शाहीले ह्याट्रिक गरे। पहिलो हाफको २७औं मिनेटमा गोल गरेका शाहीले दोस्रो हाफको २ मिनेट र दोस्रो हाफकै १४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। वैलारीका दिपेन्द्र शाही खेलको म्यान अफ द म्याच भए। 

सोमवारको दोस्रो खेलमा आयोजक पुर्नवास नगरपालिका रातोले लालझाडी गाउँपालिकालाई २–० ले हरायो। पुर्नवास रातोले दुवै गोल पहिलो हाफमा गरेको हो। पुर्नवासका लागि फिलिप तामाङले पहिलो हाफको १३औं मिनेट र रोहित तामाङले पहिलो हाफको ३५औं मिनेटमा गोल गरे। दोस्रो हाफमा कुनै पनि टीमले गोल गर्न सकेनन् । पुर्नवास रातोका फिलिप तामाङ म्यान अफ द म्याच भए। 

इसअघि आईतवार भएको खेलमा आयोजक पुर्नवास नगरपालिका निलोले कृष्णपुर नगरपालिकालाई २–१ ले हराएको थियो भने गोदावरी नगरपालिकाले वोराडाँडी गाउँपालिकालाई ४–१ ले हराएको थियो। 

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा आयोजक पुर्नवास नगरपालिका निलो र भिमदत्त नगरपालिका तथा दोस्रो खेलमा पुर्नवास नगरपालिका रातो र धनगढी उपमहानगरपालिका बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका मिडिया संयोजक भरत बोहोराले जानकारी दिए। 

प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छन्। सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भईरहेको छ। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा सुरु भएको मेयर कप फुटबल नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगिताका संयोजक खडक विक्रम थापाले जानकारी दिए। 

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिए। 

त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ।
 

कमेन्ट लोड गर्नुस